विवाह पञ्चमी महोत्सवमा सुरक्षाकर्मी परिचालन गरिने
यही मङ्सिर १६ गतेबाट शुरु हुने साताव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
विवाह पञ्चमीमा सहभागी हुनका लागि आउने लाखौँ तीर्थालुहरूको सुरक्षाका लागि १ हजार ४ सय नेपाल प्रहरी र सादा पोसाकमा समेत प्रहरी परिचालन हुने भएको छ । शान्ति सुरक्षालाई ख्याल गर्दै व्यापक रुपमा सुरक्षाकर्मीको परिचालन गर्नुका साथै पाकेटमारा सहितका अपराध रोक्नका लागि तालिम प्राप्त सदा पोसाकका प्रहरी परिचालन गरिने धनुषा प्रहरीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
त्यस्तै सीमानाकादेखि मेलासम्म शान्ति सुरक्षा, भन्सार सुरक्षासहितको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसंग समन्वय गरेर मेलामा ७ सय ५ जना सशस्त्र प्रहरी परिचालन गर्नुका साथै अत्यधिक भीडभाड हुने ठाउँमा ड्रोनमार्फत पनि सुरक्षा निगरानी गर्ने तयारी गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले बताए ।
मेलामा आउने सवारी साधन तथा भीडलाई व्यवस्थापन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले १ सय ४० ट्राफिक प्रहरी परिचालन गर्ने र मेलामा आउने सवारी साधन तथा हल्का सवारी साधनको पार्किङ स्थलको विषयमा ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरि ओलीले जानकारी दिँदै भिभिआइपीका लागि विशेष मार्ग छुट्याउने तयारी गरिएको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा सरसफाई, बाह« विघा रंगभूमि मैदानमा १ सय अस्थायी शौचालयको निर्माणका साथै हनुमानगढीमा शौचालय तथा ठाउँ ठाउँमा चापाकलको व्यवस्थापनको काम शुरु गरेको बैठकमा जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले प्रादेशिक अस्पतालले २४ औँ घण्टा चिकित्सकीय सेवाका साथै मेलालाई लक्षित गरेर ७५ शैय् या छुट्याउने काम गर्नुका साथै आवश्यक औषधिको व्यवस्थापन गरिने बताए ।
त्यस्तै खानेपानी संस्थानले ठाउँ ठाउँमा धाराको जडान गर्नुका साथै विद्युत् प्राधिकरणले मेलामा विद्युत् नकाटिने गरी व्यवस्थापन गरेको बैठकमा जनाएको छ । यसका साथै नेपाल टेलिकमले मोबाइलको नेटवर्कमा समस्या नआओस् भन्नका लागि टावरसहितको थप ओवि भ्यानको व्यवस्थापन गर्नुका साथै सडक डिभिजन कार्यालयले सडकमा भएको खाण्डाखुण्डी पुर्ने काम गरिरहेको डिई दिपक कुमार झाले बताए ।
नेपाल रेडक्रसको समन्वयमा मेलाको विभिन्न भागमा १ सय १ वटा निःशुल्क स्वास्थ्य शिविरका साथै दुर्घटनामा परेकालाई रगत निःशुल्क दिने व्यवस्था मिलाएको सभापति नरेश प्रसाद सिंहले बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाको अध्यक्षतामा भएको बैठकमा जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष मनोज साहले मेलाको सुरक्षाका लागि आउने ३ सय ५० सुरक्षाकर्मीको बाँसको व्यवस्थापनका साथै बाहिरबाट आउने तीर्थालुहरुलाई आवास तथा भोजनको व्यवस्था गरेको बताए ।
विवाहपञ्चमी महोत्सव अन्तर्गतको पहिलो दिन अर्थात मङ्सिर १६ गते जनकपुरधाम नगर दर्शनदेखि २२ गते रामकलेवासम्म साताव्यापी रुपमा विवाह पञ्चमी महामहोत्सव हुनेछ । प्रत्येक पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट पाँच सयको संख्यामा जन्ती आउने छ ।
The post विवाह पञ्चमी महोत्सवमा सुरक्षाकर्मी परिचालन गरिने appeared first on Janakpur Today.