श्रीलंका र बंगलादेशपछि पाकिस्तानका सडकमा उर्लिए जनता, यस्तो छ कारण
काठमाडौं– सन् २०२२मा कोरोनापछि व्यापक आर्थिक मन्दी देखिएपछि श्रीलंकामा जनता आक्रोसित बने । श्रीलंकाली जनताले राष्ट्रपति भवन गर्दै देशको राजनीतिमा लामो समयदेखि नियन्त्रण कायम गरिरहेका राजापाक्षे घरानाका नेताहरू राष्ट्रपति गोतावाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई सत्ता च्युत गरिदियो । अन्त्यमा उनीहरु देशै छाडेर भाग्नुपर्यो । त्यसपछि हालसालै भएको निर्वाचनमा श्रीलंकामा कम्युनिष्ट पार्टीले बहुमत ल्याएको छ ।
यस्तै केहि महिनाअघि जनताको आक्रोश बंगलादेशमा देखियो । बंगलादेश विभाजनको क्रममा भएको स्वतन्त्रता आन्दोलनमा संलग्न व्यक्ति र उनीहरूका परिवारलाई दिने गरिएको आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलन बिस्तारै फैलिँदै गयो । तर यसलाई राज्यले दबाउन खोज्यो । जसको नतिजामा लामो समयदेखि सत्ता चलाउँदै आएकी प्रधानमन्त्री शेख हसिना वाजेद आफ्नो पदबाट राजीनामा गर्दै विशेष विमान मार्फत भारतमा शरण लिन पुगिन ।
अहिले बंगलादेशको नेतृत्व नोबेल पुरस्कार बिजेता मोहमद युनुसले गरिरहेका छन् ।
अब भने पाकिस्तानको राजधानीमा लाखौँको सङ्ख्यामा जनता सडकमा निस्किएका छन् । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै लाखौँको सङ्ख्याका मानिसहरु इस्लामावादमा उत्रिएका हुन् । उनीहरुलाई राजधानीको केन्द्रसम्म पुग्नबाट रोक्न सैन्य सरकारले बल प्रयोग गर्दा मंगलबार विभिन्न झडपका घटनाहरु भए । भिडमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरियो
राजधानीका केही क्षेत्रमा सेना समेत परिचालन गरिएको छ भने चार सुरक्षाकर्मीहरूको ज्यान गएको छ। प्रदर्शनकारीको भने कति सङ्ख्यामा ज्यान गयो भन्ने कुरा भने पाकिस्तानको सेना सरकारले खुलाएको छैन ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भूतपूर्व क्रिकेट खेलाडीसमेत हुन् । उनको नेतृत्वमा पाकिस्तानले १९९२ को क्रिकेट विश्वकप जित्न सफल भएको थियो ।
सन् १९९६ बाट राजनीतिमा आएका उनी लामो समयसम्म संसदीय राजनीतिमा सफल हुन सकेका थिएनन् । तर, सन् २०१८ को निर्वाचनमा उनको पार्टीले बहुमत ल्याएपछि उनी पाकिस्तानको प्रधानमन्त्री बने । तर २०२२ मा पाकिस्तानी राजनीतिमा अमेरिकाको चासो र आन्तरिक विवादको कारण उनको सरकार ढल्यो । सरकार ढलेपछि उनी सडक आन्दोलनमा उत्रिएका थिए । तर उनीमाथी अनेक आरोपहरु लगाउँदै अदालतमा मुद्दाका चाङ थुप्रियो । भ्रष्टाचार मुद्दा लगाउँदै उनलाई २०२३ को मे मा १० वर्षको जेल सजाय सुनाएपछि उनलाई अध्यारो कोठाभित्र हिरासतमा राखिएको छ ।
इमरानलाई जेल सजाय भएपछि उनको पार्टि पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीए) लाई प्रतिबन्ध लगाइएको थियो । तर गत फेब्रुअरी महिनामा भएको निर्वाचनमा पार्टीका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा सबैभन्दा धेरै सिट जितेका थिए । यद्यपी उनीहरुलाई सरकार बनाउन भने दिएन ।
अमेरिकाको समर्थनमा पाकिस्तानको सत्ता सेनाले लियो । पाकिस्ताको सेनाले ‘कु’ गरेपछि नै पाकिस्तानमा ठूलो राजनीतिक असन्तुष्टि देखिएको छ । त्यसैले इमरानको समर्थकको व्यापक सहभागितामा इमरानकी श्रीमतीको अगुवाइमा इमरानलाई छाड्न दबाब दिने काम भइरहेका छन् ।
सरकारले यसलाई रोक्नका लागि सकेको सबै प्रयत्न गरिरहेको छ । राजधानी इस्लामवाद भरि नै लकडाउन घोषणा गरिएको छ । इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । मानिसहरूलाई भेला नहुन भनिएको छ । तर पनि प्रदर्शनकारीहरू भेला भएर आफ्ना नेताको रिहाईको माग गरिरहेका छन् ।