सन्दीपले पाए अमेरिकाको भिसा, आजै प्रस्थान गर्ने तयारी

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ती जारी गर्दै सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्ने जानकारी दिएको छ ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी–२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।

पछिल्लो समय क्यानाडामा भएको त्रिकोणात्मक एकदिवसीय खेल र टि–२० खेल खेलेर सन्दीप अमेरिकाको भिसा नभएको कारण स्वदेश फर्किएका थिए । उनले नेपालमा आएर भिसाको प्रयास गर्दा यसपटक भने भिसा पाएका हुन् ।

उता नेपाली क्रिकेट टोलीका अन्य खेलाडी भने अमेरिकामा छन् । आजबाट नेपालले अमेरिकाबीच तीन खेलको टी–२० शृंखलासुरू भएको थियो । पहिलो खेलमा नेपालले जित निकालेको छ । टि–२० सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग– २ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

Source : https://onlinetvnepal.com/2024/10/184910/