सभामुख घिमिरेले गरे कम्बोडियन समकक्षीसँग भेट
समाचार सुन्नुहोस :
काठमाडौँ – कम्बोडियाको पाँचदिने औपचारिक भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आफ्नो भ्रमण कार्यक्रम अन्तर्गत विभिन्न उच्चस्तरीय भेटघाटहरू सुरु गरेका छन्। शनिबार साँझ उनले कम्बोडियन तल्लो सदनका सभामुखसँग शिष्टाचार भेट गर्दै द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रिया र संसदीय आदानप्रदानजस्ता विषयमा छलफल गरेका छन्।
सभामुख घिमिरेले कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग पनि भेट गरेका छन्। भेटका क्रममा उनले नेपालमा शान्ति प्रक्रियाबाट हासिल प्रगतिलाई उल्लेख गर्दै नेपालमा समावेशी र प्रगतिशील संरचनाको निर्माणमा शान्ति सम्झौताले पुर्याएको योगदानबारे जानकारी गराएका थिए।
कम्बोडियाको संसद्ले नेपालको शान्ति प्रक्रिया र हालै पारित संक्रमणकालीन न्यायसम्बन्धी कानुनको सफलताप्रति सम्मान गर्दै सभामुख घिमिरेलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको छ। सभामुख घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुनमानेटको नेतृत्वमा देशले हासिल गरेको सामाजिक–आर्थिक प्रगतिलाई प्रशंसा गर्दै भर्खरै सम्पन्न भएको नेपाल–कम्बोडिया हवाई सेवा सम्झौताले दुई देशका जनताबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।
नोम पेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभामुख घिमिरे मंसिर ११ गते, मंगलबार स्वदेश फर्किनेछन्।
The post सभामुख घिमिरेले गरे कम्बोडियन समकक्षीसँग भेट appeared first on Samudrapari.