सरकार बिचौलियाको प्रभावमा बनेको पुष्टि भयो : अग्नि सापकोटा

काठमाडौं – माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले हालको सरकारलाई दलाल र बिचौलियाको प्रभावमा बनेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित माओवादी केन्द्रको खबरदारी सभामा बोल्दै सापकोटाले यो सरकार प्रमुख दुई ठूला दलको नाम मात्रमा भए पनि वास्तवमा अरूको इशारामा चलेको दाबी गरे ।

जनताले दुःख र पीडा भोगिरहेको बेला माओवादी पार्टीले सधैं न्याय र राहतको पक्षमा उभिने गरेको उनले स्मरण गराए । सापकोटाका अनुसार यो सरकार जनताको नभएर सीमित व्यापारिक दलाल, पुँजीपति र माफियाको स्वार्थ पूरा गर्ने साधन बनेको छ । माओवादी केन्द्र जिम्मेवार प्रतिपक्षका रूपमा सधैं जनताको पक्षमा खडा हुने पार्टी भएकोले जनताको विपत्तिमा चुप लागेर बस्न नसक्ने उनले प्रस्ट पारे ।

असोज ७ गतेदेखि मौसम विभागले लगातार सचेत गराउँदा पनि सरकारले त्यसलाई बेवास्ता गरेकोले ठुलो जनधनको क्षति भएको सापकोटाले आरोप लगाए । उनले संसद् विघटनको प्रयास गरिरहेको पार्टीलाई लोकतन्त्रको संरक्षणको कुरा गर्नु विरोधाभासी भएको टिप्पणी गरे ।

साथै, सरकार फेरि दल विभाजनको उद्देश्यले अध्यादेश ल्याउन खोजेको भन्दै उनी असन्तुष्ट देखिए । काठमाडौँमा सरकारलाई खबरदारी गरे पनि त्यसलाई नटेरे देशव्यापी आन्दोलन गर्ने चेतावनी उनले दिए । वर्तमान सरकारले भ्रष्टाचार र बिचौलियालाई संरक्षण गरिरहेको भन्दै उनले सरकारप्रति गम्भीर आलोचना गरे ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post सरकार बिचौलियाको प्रभावमा बनेको पुष्टि भयो : अग्नि सापकोटा appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493951/