सर्वोच्च अदालतको बोर्डमा विनु यादवले छ्यापिन कालो रङ
काठमाडौं– सर्वोच्च अदालतको बोर्डमा विनु यादवले कालो रङ्ग छ्यापेकी छिन् । आज (मंगलबार) बिहान सर्वोच्च अदालतको गेटमा रहेको बोर्डमा कालो रङ्ग छ्यापेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पठाओ चढेर कालो साडीमा आएकी विनुले बोतल कालो रङ ल्याएकी थिइन् । उनले मोटरसाइकलबाट उत्रिन साथ कालो छ्यापेकी हुन् । विनुले सर्वोच्च अदालत परिसरमा आन्दोलन गर्ने पूर्व सूचना पाएर सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमा पुगिसकेको थियो । तर, पनि कालो रङ छ्याप्नबाट प्रहरीले विनुलाई रोक्न सकेन । घटना लगत्तै उनलाई नियन्त्रणमा लिएर सिंहदरबार वृत्तमा राखिएको छ ।
विनुले रामेछापका एक युवकसँग विवाह गरेकी थिइन् । युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । मुद्दामा अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।
यसअघि उनी आफू घरेलु हिंसा पीडित भएको बताउँदै २०८० जेठताका आमरण अनशन पनि बसेकी थिइन् । सरकारसँग पाँच बुँदे सहमति भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुस पिलाएर उनको अनशन तोडाएका थिए ।
सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो ।