सहकारी ठगी आरोपमा लामिछाने पक्राउ परेको सूचना संसदलाई दिईयो

काठमाडौं – सहकारी ठगी प्रकरणका बहुचर्चित नाम रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन । लामिछानेको पक्राउसँगै उनको सांसद पद के हुन्छ भन्ने प्रश्न उठेको छ। लामिछाने चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उनलाई शुक्रबार प्रहरीले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको हो।

प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएकाले तत्कालै उनको सांसद पदलाई कुनै किसिमको समस्या देखिँदैन। तर, प्रहरीबाट अभियोग दर्तापछि अदालतले दिने फैसलामा उनको पद रहने वा नरहने भन्ने निर्भर हुने छ। संगठित अपराधको मुद्दा चलेर त्यसमा उनी दोषी ठहर भएको खण्डमा उनको राजनीतिक भविष्य नै संकटमा पर्नेछ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाएको व्यक्तिलाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको अवधिसम्म प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन अयोग्य भनेको छ। ऐनको दफा १३ मा प्रतिनिधिसभा उम्मेदवारको अयोग्यताका विषयहरू उल्लेख छन्। दफा १३ को (ङ) मा संगठित अपराधसम्बन्धी कसुरमा सजाय पाएका व्यक्तिलाई उम्मेदवार हुन अयोग्य भनिएको छ।

तत्कालको हकमा भने लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै कारणले भने उनको सांसद पद निलम्बनमा पर्ने छैन। प्रतिनिधिसभा नियमावलीले अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा मात्रै थुनामा रहेको अवधिभर सांसदको पद निलम्बन हुने व्यवस्था गरेको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार अहिले संसद् नचलेकाले सांसद पक्राउ परेको सूचना सचिवालयको सूचना पाटीमा टाँस गर्न लगाएर सार्वजनिक गरिनेछ। लामिछाने पक्राउ परेको सूचना प्रहरीले संसद् सचिवालयलाई पठाइसकेको बताएको छ। तर, शुक्रबार रातिसम्म त्यो सूचना संसद् वा सभामुखको निजी सचिवालयमा प्राप्त भइनसकेको गिरीले जनाए।

प्रवक्ता गिरीका अनुसार कुनै पनि सांसद पक्राउ परेको स्थितिमा उनको पद निलम्बन हुने वा नहुने विषयमा प्रतिनिधिसभा नियमावलीको नियम २४८ को व्यवस्थाअनुसार हुनेछ। सांसदहरूले आफ्ना लागि आफैंले बनाएको प्रतिनिधिसभा नियमावलीमा पद निलम्बनको विषयलाई विगतको तुलनामा सुरक्षित बनाएका छन्।

प्रतिनिधिसभा नियमावली २०७९ मा नियम २४८(३) ले तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने अभियोग लागेको मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको खण्डमा मात्रै सांसदको पद निलम्बन हुने प्रावधान छ। नियमावलीमा भनिएको छ– ‘प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो अवधिभर निज निलम्बनमा रहनेछन्।’

लामिछानेमाथि संगठित अपराध तथा किर्ते गरेको सम्बन्धमा पनि अनुसन्धान हुने भएको छ । अमेरिकामा छंदा पनि उनको विगत विवाद नै विवादले घेरिएको बताईन्छ । तर लामिछाने निरन्तर आफु निर्दोष भएको बताउंदै आएका छन । निर्दोष भए न्यायालयबाट निर्दोष साबित भएर आउने नै छन तर नानाथरिका जुलुस, धर्ना, बिरोध यी सब के का लागि एकथरि यसो भन्नेहरु पनि छन।***

The post सहकारी ठगी आरोपमा लामिछाने पक्राउ परेको सूचना संसदलाई दिईयो appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493335/