सूर्यविनायकमा मखमलीको माला गाँस्ने र बजार लाने चटारो

काठमाडौ

तिहारमा भाईटीकाको दिनमा दाजुभाइलाई सधैँ मखमली फुल जस्तै ताजा र चम्किलो रहिरहन आर्शिवादसहित गलामा दिदी बहिनीहरुले लगाईदिन्छन । यो फूल सूर्य विनायक नगरपालिका वडा नं ७ मा विगत ४० वर्ष देखि व्यावसायिक खेतीकै रुपमा गरिएको भएपनि स्थानीय सरकारको योजनामा परेपछि मात्र चर्चामा आएको छ । 

हाल सूर्य विनायक नगरपालिका वडा नं ७ गुण्डुका स्व.पहलमान नगरकोटीले झण्डै ४० वर्ष अघि मखमली फूलको व्यवसायीक खेती सुरु गरेको  तथ्य बाहिरिएकोछ । आज उनले शूरु गरेको  फूल खेती वडाकै नमूनारुपी व्यवसायीक खेतीका रुपमा विकास भएको छ । भक्तपुरको गुण्डुलाई यतिबेला मखमली र सयपत्री लगायतका फूलखेतीले सुन्दरतासँगै दीर्घकालीन आयआर्जनमा समेत ठूलो टेवा दिएको छ । नगरकोटीको हातमा एकसुका नहुँदा छरछिमेकीले सापटी सम्म पत्याउँदैन थिए । उनको आफ्नै मेहनत र परिश्रमबाट नगरकै नमूना काम गर्ने प्रशसनीय व्यक्तिका रुपमा परिचित भएर वडालाई समेत गौरावान्वीत बनाए । यो उदाहरणीय चर्चा स्वयम नगरकोटीले भने सुन्न पाएनन् । 

नगरकोटीकी श्रीमती देव कुमारी नगरकोटी भन्छिन्— ‘फूल खेती सुरु गरेसँगै उत्पादन भएका फूलहरु विक्रीका लागि निकै दुःख कष्ट गर्दै भक्तपुर, काठमाडौका पशुपति, चावहेल, असन, इन्द्रचोक लगायतका क्षेत्रमा लैजाँदा केही स्थानिय व्यापारिहरुले आफ्नो व्यापार घटाएको आरोप लगाउँदै लखेट्थे । तर यस्तो अवस्थामा पनि श्रीमानले लुकी लुकी भएपनि फूल बेचेर गाउँ र समाजलाई नै फूल व्यवसाय सिकाउनुभयो । उहाँले आफूले मात्र फूल खेती नगरेर समाजलाई पनि गरे के हुन्न भन्दै फूल खेतीमा आकर्षित गर्नुभयो । आज उहाँकै देनले गर्दा सूर्य विनायक नगरपालिका वडा नं ७ का किसानहरुले फूल खेतीलाई आफ्नो आय आर्जनको मूल स्रोतका रुपमा अपनाउन सफल भएका छौ ।’ 

यतिबेला सूर्यविनायक ७ मा फूल खेतीले हरेक परिवारको आय आर्जन सहज भएको छ र स्वास्थ्य, शिक्षा, स्वरोजगारी, घरखर्च, विवाह, वर्तबन्ध, पूजा, चाडपर्व मनाउँन पैसाको अभाव छैन र महिलाहरुले पनि श्रीमान् र छोराको कमाई कुरेर बस्नुपर्ने अवस्था नभएको सफल फूल व्यवसायी तथा वडा स्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्ष उर्मिला नगरकोटी बताउछिन् । उनी  पहलमानकी छोरी हुन् ।
 
सूर्य विनायका ७ को मुख्य पेशा भनेको कृषि, व्यवसायीक पुष्प खेती तथा तरकारी खेती, पशुपालन र रोजगारी हो । यो वडा ५ दशमल्भ ९४ वर्ग किलोमिटरमा फैलिएकोछ । अरनिको राजमार्गबाट दक्षिण तर्फ केही उच्चाईमा रहेको खेतीयोग्य जमिन, चारैतिर फराकिला सडक र यातायातको सुविधा पुगेको छ । यतिबेला हरेक घरमा मखमलीको माला उन्ने चटारो छ । 

फूल खेतीमा निकै ख्याती कमाएको यो वडाले किसानलाई फूल खेतीतर्फ प्रोत्साहित गर्दै मखमली र सयपत्री फूलका बिरुवा ८० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ । टनेल खेतीका लागि प्लाष्टिक, औजार, सिंचाईका लागि पानी, इनार खन्ने, बिउँ विजन, हाते ट्याक्टर अनुदान तथा साझेदारीमा उपलब्ध गराउँनुका साथै किसानलाई सहजताका लागि वडाकै साना किसान कृषि सहकारी संस्था गुण्डुसँग सहकार्य गरेकोले व्यवसायलाई निरन्तरता दिन अझ मद्दत  मिलेको उर्मिला बताउँछिन् । 

२०७८ सालको जनगणना अनुसार सूर्यविनायक ७ मा १७७८ घरधुरीमा ७१४१ जनसंख्या रहेको वडा अध्यक्ष तथा नगरका प्रवक्ता रवीन्द्र सापकोटा बताउँछन् । वडाको कुल जनसंख्यामा ३५२९ जना पुरुष र ३६१२ जना महिला रहेका छन् । यतिबेला गुण्डुका बासिन्दालाई तिहारले झपक्कै छोपेको छ । हरेकका घर आगनमा मखमली फूलका माला गाँस्ने भीड लागेको छ । फूल टिप्ने, माला गाँस्ने, एक्ला एक्लै र सामुहिक रुपमा समेत पालै पालो गरेर समेत नभ्याउनेले प्रति माला ५ रुपियाँका  दरले पारिश्रमिक दिएर माला गाँस्ने काममा हरेक घरमा मान्छेहरु व्यस्त छन् । 

एक जनाले एक दिनमा १ सय वटा सम्म माला गाँस्ने गरेको नगरकोटी टोलमा फूल व्यवसायकै लागि जग्गा भाडामा लिएर बस्दै आएकी रामेछाप स्थायी घर भएकी संगिता कार्की बताउँछिन् । उनले २ रोपनी जग्गा भाडामा लिएर फूल व्यवसाय र कुखुरा पालन व्यवसाय गरेकी छन्  । उनको श्रीमान् ट्याक्सी चलाउँने काम गर्नुका साथै व्यवसायमा समेत सघाउँछन्  । उनीहरुको एउटी सानी छोरी छन् । 

यहाँ परम्परागत पेशाका रुपमा समेत फूल खेतीलाई अपनाएको उर्मिलाको कथन छ । उनी भन्छिन् —४० वर्ष पहिला मेरो बुबाले मखमली फूलको खेती गर्दा एउटा मालाको एक सुकामा बेच्नुहुन्थ्यो । छरछिमेकीको माला पनि केही मुनाफा लिएर बेचिदिनुहुन्थ्यो । बुबालाई बालबच्चा हुर्काउँन निकै कठीन थियो । बुबालाई ३ जना छोरा, छोरी, श्रीमती सहित १० जनाको परिवार धान्न निकै गाह्रो भएपछि फूल खेती सुरु गर्नुभएको हो । गुण्डुमा फूल खेतीको शूरुवात बुबाले नै गर्नुभएको हो । उहाँले खेती सुरु गरेपछि गाउँ छिमेकमा पनि सिकाउनुभयो । बिउ राखिदिने देखि फूल बजारमा लगेर बेच्ने सम्म बुबालेनै गर्नुहुन्थ्यो । 

जब फूल बेचेर पैसा आउँछ भन्ने गाउँ समाजले बुझे त्यसपछि धेरैले बुबाको सिको गर्दै त्यसरीनै फूल उत्पादन गर्ने र बेच्ने गर्न थाले । एक सुकाबाट सुरु भएको मखमली फूलको मालको मूल्य अहिले २० रुपैया देखि १ सय रुपैया सम्म छ । बजार मूल्यमा एकरुपता छैन । बजार भाउ किसानले भन्दा बिचौलियाले लिन्छन् । जस्ले जतिमा सक्छ त्यतिमै बेच्छन् । नयाँ नयाँ प्रविधिको सदुपयोग गर्ने र नेपालीहरुसँग जनसंम्पर्कमा रहेकाले स्वदेशमा मात्र नभै विदेशमा समेत मखमली फूलको व्यापार गर्छन् । मखमली फूलको व्यापार यही तिहार लक्षित हुने हुनाले गुण्डुमा असार देखिनै फूल टिप्ने, माला बनाउँने, सुकाउने र बजार पुर्‍याउने चटारोले कसैका हात खाली छैनन् । 

जमिन कम हुने तथा नहुनेले समेत गुण्डुलाई मखमली फूलको हव बनाई जमिन भाडामा लिएर फूल खेती गरेका देखिन्छ । पहिला ५ रुपियाँ  ऋण नपत्याउँने मान्छे अहिले फूल बेचेर तिर्छन भनेर आवश्यक पर्दा घरमै पुर्याउँन आउँछन् । जब बुबाले व्यावसायिक रुपमा फूल खेति सुरु गर्नुभयो त्यसपछि उहाँले मखमली, सयपत्री मात्र नभै डालिया फूल खेती गरेर बर्षमा ३ देखि ४ लाख सम्मको आम्दानी गर्न थाल्नुभयो । भाईहरु पनि यो पेशा हुँदै आफ्नै पसल खोल्ने, काम गर्न थाले । म, आमा र बुहारीहरुले बुबाको पेशालाई निरन्तरता दिँदै गयौ । बुबाले मृत्यु हुने ४ दिन अघि सम्म पनि आफैले फूलको बेर्ना राख्नुभएको थियो । उहाँले फूलको महत्व बुझेर असाध्य माया गरेकै कारण आज हामी झुपडीबाट पक्की घरमा पुग्यौ । यो सबै बुबाको देन हो । उहाँको सीपले परिवार मात्र नभै वडालाई नै चिनाएको छ । यो वडाबाट विवाह भएर गएका छोरी र यहाँ भित्रने बुहारीले समेत फूल खेतीलाई देश, विदेशमा समेत व्यावसायिक रुपमै फैलाएका छन् उर्मिला भन्छिन्  । 

फागुनमा बेर्ना राखि चैत्रमा रोपेपछि असार देखि फूल्न थाल्छ । हप्तामा एकपटक फूल टिप्दै निरन्तर ४ महिना सम्म टिप्न मिल्छ । उर्मिलाको परिवारले डेड रोपनी जमिनमा ७ देखि ८ हजार वटा सम्म माला बनाउँनुहुन्थ्यो । यो वर्ष पानी धेरै परेकाले फूल अलि कम भएको बताउँछिन्  । व्यवसायका लागि नगरपालिका र वडाले निकै साथ दिएकोछ । हाम्रो १० जनाको परिवार यही फूल खेतीबाटै खुसी र सुखी भएका छौ । मखमली ३ महिना त्यो पनि तिहार लक्षित मात्र हुन्छ भने सयपत्री १२ हैं महिना फुलाउँछौ । सयपत्रीको माला, गुच्छा, बुकी बनाउँन मिल्छ । हाम्रो परिवारले बुबाकै पेशालाई निरन्तरता दिँदै आएका छौ र यसैबाट उन्नति प्रगति भएको छ । 

फूलको व्यवसाय नगर्दा पैसा र सुन देख्न सम्म पाइन्नथ्यो । फूल खेती  गरेर पहिलो पटक डेढ तोलाको हार बनाए । त्यो मेरो जीवनको अमूल्य चिज हो र सुरक्षित राखेको छु । मैले जस्तै आमाले पनि  मखमली फूल बेचेर बुहारीका लागि सुनको सिक्री बनाइदिनुभयो । बुबा ६६ वर्षको उमेरमा बित्नुभयो । बुबा सधैँ बारीमा फूल उत्पादन गर्ने विक्रीका लागि बजार जाने गर्नुहुन्थ्यो । म बुबाको काम सघाउँनुका साथै नगर, वडा, समाजमा जान्थे । सहुलियत सेवा मेरै नाममा लिन्थे । बुबा बित्नुभयो त्यसपछि नगरको कार्यक्रममा वडा अध्यक्षले बोल्ने क्रममा फूलको चर्चा गर्दै व्यवसायीक रुपमा खेती मैले सुरु गरेको भन्नुभयो । त्यतिबेला आमा र म निकै रोयौ । फूलको व्यवसाय बुबाले गर्नुभएको थियो तर उहाँलाई चिनाउँनै सकिएनछ । यदि बुबा जिवितै हुँदा उहाँले फूलको व्यवसाय गर्ने पहिलो व्यक्तिका रुपमा चिनिनुभएको भए कति  खुसी हुनुहुन्थ्यो होला उर्मिला प्रश्न गर्छिन्  ।

रवीन्द्र सापकोटा वडा नं ७ का अध्यक्ष भन्छन् —फूलमा प्रसिद्ध वडा हो । फूललाई व्यावसायिक खेतीको रुपमा विकास गरी  नगदे बालीको रुपमा विकास गर्ने योजना छ । बजारमा बिचौलियको चलखेल बढी छ । अब बजारमा एकदर ल्याउन बेर्ना दिए जस्तै बजारीकरणमा पनि हेर्नुपर्छ भनेर सहकारीलाई भनेका छौ । आम किसानसँग नगरपालिका सुख दुःखमा साथै रहन्छ । २०७५ साल देखि बेर्ना अनुदान सुरु गर्‍यो । यो वर्ष पनि १० लाख लागतमा बेर्ना उपलब्ध गरायौ । 
अजयमणी रिसाल कृषि तथा सानाकिसान सहकारी संस्था लिमिटेडका प्रबन्धक भन्छन्—मखमली फूलबाटै आयस्रोतको आधार बनाई सुका मोहोरबाट सुरु गरी  घरबाटै माला उन्दा उन्दै २० देखि २५ रुपैया सम्ममा विक्री गर्दैछन् । यो सहकारीले अहिले किसानको लागत घटाउन सरकारबाट राहत दिलाउन नगरसँग समन्वय गरी बेर्ना उत्पादन गरी विगत ५ वर्ष देखि बेर्ना उत्पादन गरी ४ सय २८ जना कृषकलाई ८० प्रतिशत अनुदानमा वडाले उपलब्ध गराउँदै आएको छ । 

नर्सरीनै राखेर किसानको माग अनुसार बेर्ना वितरण गर्दै आएको छ । यसमा विशेष गरी  महिला कृषक र युवाहरु आकर्षित भएका छन् । अहिले महिलाको आर्थिक उपार्जन राम्रो भएको छ । लक्ष्मी नगरकोटी र सरिता नगरकोटीले सयपत्री फूल उत्पादन र विक्री वितरण गर्दै छन्  । कृषक माझमा साना किसान सहकारीले पुलको काम गर्दैछ । फूलको बेर्ना दिनु अघि फूल रोप्ने, संरक्षण गर्ने, मल हाल्ने विषयमा प्राविधिक मार्फत तालिम दिन्छौ । यसले गुण्डुको बासिन्दामा आत्म निर्भरता र आम्दानीको स्रोत बढाएको छ । 

Source : https://newsofnepal.com/2024/10/19/674092/