हिन्दु–मुस्लिम एक साथ ऐतिहासिक भगवती मन्दिर र पोखरीको स्वरुप फेर्दै

राजविराजको मुटुमै रहेको ऐतिहासिक तथा धार्मिक महत्वको चन्डेश्वरी भगवती मन्दिर र भगवती पोखरीको स्वरुप फेरिँदै छ । मन्दिर र पोखरी अहिले मर्मत–सम्भार भइ नयाँ रुपमा परिणत हुने क्रममा छ । हिन्दु समुदायकी प्रदेशसभा सदस्य किरण कुमारी साह तथा मुस्लिम समुदायकी राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत प्रवीणले विशेष चासो राख्दै मर्मत सम्भार र सौन्दर्यकरणका लागि क्रमशः आफ्नो संसदीय विकास कोष र नगरपालिकाबाट बजेट उपलब्ध गराएपछि राजविराज–७ मा विभिन्न मन्दिरहरुको निकटमा अवस्थित सो मन्दिर र पोखरीको कायापलट हुन लागेको छ ।

प्रदेश सभा सदस्य साहले पटक पटक गरी सो मन्दिर र पोखरी सौन्दर्यकरणका लागि हाल सम्म आफ्नो संसदीय विकास कोषबाट करिब ६० लाख रुपैयाँ उपलब्ध गराइ सकेकी छिन् । त्यस्तै कार्यवाहक नगरप्रमुख प्रवीणले नगरपालिकाबाट पहिलो चरणमा ५० लाख रुपैयाँ उपलब्ध गराइएकी छिन् । दुवै जनाले अहिले सम्म उपलब्ध बजेटबाट भगवती मन्दिर र पोखरीको सौन्दर्यकरण थालनी गरेर आगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने बजेटले थप सौन्दर्यकरण कार्य गरिने प्रतिबद्घता समेत जनाएकी छन् ।

प्रदेश सभा सदस्य साह आफ्नो संसदीय विकास कोषको बजेटबाट मन्दिर र पोखरी प्रवेश गर्ने दुईवटा मार्गमा प्रवेशद्वार तथा पोखरीको एक भागमा पूजाघाट निर्माण गरिएको छ । ‘पुजाघाटको अभावले गर्दा छठ पर्व लगायत विभिन्न धार्मिक कार्यक्रमका अवसरमा पूजा विधि गर्न भक्तजनलाई समस्या हुँदै आएको थियो, प्रदेश सांसद साहले भनिन्– अघिल्लो वर्षको बजेटबाट प्रवेशद्वार तथा पोखरीको एक भागमा टायल्स सहितको पूजाघाट निर्माण गराएका छौँ, आगामी आर्थिक वर्षको बजेटलाई क्रमशः पोखरीको चारैतिर टायल्स सहितको पुजा घाट निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएका छौँ ।’ प्राचीन एवं धार्मिक महत्वको स्थल संरक्षण र संवद्र्घनको अभावमा जीर्ण बन्न लागेकाले आफूले विशेष चासो देखाएको उनको कथन छ ।

यता राजविराज नगरपालिकाले सो मन्दिर र पोखरीको सौन्र्यकरणका लागि ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आवश्यकता अनुसार आगामी वर्षमा समेत बजेट थपिने कार्यवाहक नगरप्रमुख ईसरत प्रवीण बताउँछिन् । ‘धर्म फरक भए पनि हाम्रा चाडपर्व, मठ, मन्दिर, मस्जिद साझा, एकअर्काको धमर्, संस्कृति, धार्मिक स्थलको संरक्षण, संवद्र्धन र सम्मान गर्दा हिन्दु–मस्लिमबीचको सम्बन्ध अझ प्रघाट बनाउन समेत मदत पु¥याउँछ, उनले थपिन्– राजविराजमा हिन्दु–मुस्लिम एकअर्काको चाडपर्वमा सहभागी हुने र सहयोग गर्ने परम्परा नै बनेको छ ।” नगरपालिकाले छुट्याएको बजेटबाट अहिले सो मन्दिर र पोखरीमा रंगरौगन, चारैतिर वृक्षारोपण, शौचालय र पर्खाल निर्माणको काम सकिएको छ ।

त्यस्तै पोखरीको चारैतिर विद्युतीकरण जडान र पर्खालका भित्ताहरुमा विभिन्न देवी देउता तथा धार्मिक र सांस्कृतिक महत्वका कलात्मक चित्रहरु कोर्ने र आकर्षक रुपमा सजाउने काम धमाधम भइरहेको कार्यवाहक नगरप्रमुख प्रवीणको भनाई छ । मन्दिर समितिका अध्यक्ष रामानन्द देवले संरक्षणको अभावमा जीर्ण बन्दै गएको मन्दिर भवन र बेवारिसे अवस्थामा रहेको पोखरीको मर्मत सम्भार गरी नयाँ रुप दिएकोमा दुवै महिला जनप्रतिनिधि धन्यवादको पात्र रहेको प्रतिकृया दिए ।

ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिर र पोखरीको सौन्दर्यकरण काम सम्पन्न भएपछि राजविराज नगरक्षेत्रका मुख्यवस्तीका साथै आसपास र बाहिरबाट आउने भक्तजनका लागि सहज हुने विश्वास गरिएको छ ।

The post हिन्दु–मुस्लिम एक साथ ऐतिहासिक भगवती मन्दिर र पोखरीको स्वरुप फेर्दै appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/20/100029/