९ दिनपछि अवकाशमा जान लागेकी डीआईजी राणालाई ओली सरकारको विशिष्ट ‘पुरस्कार’

काठमाडौं । उमेर हदका कारण नौ दिनपछि अनिवार्य अवकाशमा जाँदै गरेकी नेपाल प्रहरीकी एक जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरिएको छ ।

डीआईजीको वरीयतामा तेस्रो नम्बरमा रहेकी किरण राणालाई आइतबार साँझ बसेको बढुवा समितिको बैठकले एआईजीमा सिफारिस गरेको हो ।

एआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य एवं प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिव रहने व्यवस्था छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दरबन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणालाई उनीभन्दा माथिको वरीयतामा रहेका बुद्धिराज गुरुङ र दुर्गासिंह चन्दलाई पन्छाएर बढुवा समितिले बढुवा सिफारिस गरेको हो ।

उनीभन्दा वरिष्ठ गुरुङ अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र चन्द गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत छिन् ।

डीआईजी–एआईजीको ५६ वर्षे उमेर हदका कारण राणा आगामी १५ कात्तिकमा अनिवार्य अवकाशमा जाँदै छिन् । उनी प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरसँगै ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण आगामी १५ कात्तिकमा अवकाशमा जाँदै छिन् ।

अवकाशको मुखैमा पुगेकी उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले विशिष्ट श्रेणीको एआईजी पद ‘पुरस्कार’ दिन लागेको हो । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पूरा भएमा अनिवार्य अवकाशमा जान्छन् ।

एआईजीमा सिफारिस राणा कांग्रेस नेता ज्ञानेन्द्र कार्कीकी नातेदार हुन् । सोही कारण अवकाशको मुखैमा उनलाई विशिष्ट श्रेणीको एआईजी पद पुरस्कार दिन लागिएको हो । विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुने हुनाले पनि उनलाई एआईजीमा सिफारिस गरिएको हो ।

प्रहरी नियमावलीनुसार बढुवा सिफारिस भएको सात दिनसम्म बढुवा गर्न मिल्दैन । आइतबार ४ कात्तिकमा बढुवाका लागि सिफारिस भएकी उनी आगामी १० कात्तिकसम्म बढुवा हुने देखिँदैन । एआईजी बढुवाको निर्णय मन्त्रिपरिषद्ले गर्ने हुनाले मन्त्रिपरिषद् बैठकले ११ कात्तिकमा नै राणालाई बढुवाका लागि निर्णय गरे पनि उनी चार दिनभन्दा बढी एआईजी हुन पाउँदिनन् । १५ कात्तिकमा अनिवार्य अवकाश हुने भएकाले १४ कात्तिकमै उनको बिदाइ हुनेछ ।

आफूनिकटका व्यक्तिहरूलाई खुसी पार्नकै लागि सरकारले एक–दुई दिनमै अवकाशमा जान लागेका प्रहरी अधिकृतहरूलाई पनि बढुवा गर्दै आएको छ । तर, यसबाट राज्य र प्रहरी संगठनलाई कुनै फाइदा देखिँदैन । विशिष्ट श्रेणीको पदमा कोही व्यक्ति खुसी पार्नका लागि बढुवा गर्दा राज्यलाई भने आर्थिक भार मात्रै पर्ने गरेको छ ।

त्यसो त अवकाशको मुखैमा एआईजीमा सिफारिस हुने राणा मात्र एक्ली उच्चपदस्थ प्रहरी अधिकृत होइनन् । यसअघि पनि शक्ति र सत्ताको नजिक हुनेहरूलाई अवकाशको मुखमा बढुवा दिएर पठाइने गरेको प्रचलन छ । रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री हुँदा दुई दिनमै अवकाशमा जान लागेका डीआईजी पोषराज पोखरेललाई उनकै जोडबलमा बढुवा सिफारिस गरिएको थियो ।

लामिछाने नेतृत्वको गृह मन्त्रालयले त्यसबेला एआईजीमा कुनै पनि पद रिक्त नहुँदै पोखरेललाई बढुवाका लागि सिफारिस गरेको थियो । तर, सरकार परिवर्तन भएका कारण एआईजी बनेर भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्ति पाउने पोखरेलको सपना भने पूरा हुन सकेन । सिफारिस भएर पनि एआईजी बन्न नसकेका उनी नेपाल प्रहरीमा सम्भवतः एक मात्र उच्चपदस्थ अधिकृत हुन् । उनी गत २१ असारबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा गएका थिए । सिफारिस भएर पनि बढुवा हुन नपाएपछि उनी सर्वोच्च अदालत पुगेका थिए । उनको निवेदन सर्वोच्चमा विचाराधीन छ ।

यसभन्दा अघि २०७९ जेठमा पनि वसन्तकुमार लामालाई सरकारले दुईदिने एआईजी बनाएको थियो । ७ जेठ राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ जेठमै बढुवा गरेर एआईजीको दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

The post ९ दिनपछि अवकाशमा जान लागेकी डीआईजी राणालाई ओली सरकारको विशिष्ट ‘पुरस्कार’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102550/