जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

काठमाडौँ ।

 जापानका प्रधानमन्त्री इशिबा शिगेरुले निर्वाचनमा आफ्नो दलले बहुतम हासिल गर्न नसके पनि तत्काल पद नछोड्ने भएका छन् ।

आइतबार भएको निर्वाचनमा जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको हो ।

एलडीपी र उसको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ । बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ । 

त्यस्तै विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीसहित विपक्षी दलहरुले २३५ सिटमा जित हासिल गरेका छन् । यद्यपि संसदमा एलडीपी १८६ सिटसहित सबै भन्दा ठुलो पार्टी भने बनेको छ ।

निर्वाचनको परिणामपछि प्रतिक्रिया दिदै प्रधानमन्त्री शिगेरुले आफ्नो गठबन्धनले सरकार बनाउन प्रयास गर्ने बताएका छन् ।

उनले भनेका छन्- ‘हामीले जनताबाट अत्यन्त खराब नतिजा पाएका छौं । यो हाम्रो पार्टी र गठबन्धनका लागि ठुलो धक्का हो । हामीले जनताको मतलाई सहजरुपमा स्वीकार गर्छौं र आगामी दिनमा पार्टीलाई राम्रो ढंगले अगाडी बढाउछौं ।’

प्रधानमन्त्री इशिबाले संसदमा अन्य दलहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य दलहरुसँग सरकार निर्माणको छलफल शुरु गर्ने बताएका छन् । आफ्नो पार्टीले सबैभन्दा धेरै मत पाएकोले सरकार बनाउन पहल गर्ने जिम्मेवारी समेत आफ्नो भएको उनले बताएका छन् ।

यद्यपि १४८ सिट जितेको विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीले पनि अन्य दलसँग छलफल गर्ने बताएको छ ।

अक्टोबर १ मा जापानको प्रधानमन्त्रीको पदभार सम्हालेका इसिबाले जनताको समर्थन जुटाउनका लागि निर्वाचनको घोषणा गरेका थिए ।  २००९ पछि पहिलो पटक जापानको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत गुमाएको हो । 

Source : https://newsofnepal.com/2024/10/28/675660/