आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो
काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाकी वैज्ञानिक सुनिता विलियम्स अन्तरिक्षमा फसेको करिब सात महिना भयो । भारतीयमूलकी सुनितासँगै विलमोर बुच पनि अन्तरिक्षमा फसेका छन् । उनीहरू यतिखेर अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा बसिरहेका छन् । उनीहरू ६ जुनमा आईएसएसमा पुगेका थिए ।
करिब सात महिनाअघि आठ दिनका लागि अन्तरिक्षमा गएका उनीहरू सवार स्पेसक्राफ्टमा खराबी आएपछि उतै फसेका हुन् । अब उनीहरू सन् २०२५ को फेब्रुअरीमा मात्र पृथ्वीमा फर्किनेछन् । उनीहरूलाई पृथ्वीमा फर्काउन भनेर एलन मस्कको कम्पनी स्पेस एक्सले ‘स्पेस एक्स क्रु ड्रागन’ नामको स्पेसक्राफ्ट अन्तरिक्षमा पठाइसकेको छ । नासाले बिग्रेको स्टारलाइनर बनाउने प्रयास गरेको थियो । तर, बनाउन सकेन ।
नासाले सुनिता र विलमोरसँग गरेको कुराकानीको एउटा भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा उनीहरूले आफ्नो स्वास्थ्यमा कुनै खराबी नआएको बताएका छन् ।
सुनिता र विलमोर आईएसएसमा एक्ला छैनन् । उनीहरूको साथमा अरू पनि अन्तरिक्षयात्री छन् । नासाका अनुसार उनीहरू त्यहाँ सुरक्षित छन् । आईएसएसमा ६ जनासम्म अन्तरिक्षयात्री बस्न सक्छन् । यहाँ अन्तरिक्षयात्रीका लागि पर्याप्त खानेकुरा पनि छ ।
अमेरिका, क्यानडा, रूस, जापान र युरोपका अन्तरिक्ष यात्री आईएसएसमा हुन्छन् । यी पाँच देशका १५ वटा अन्तरिक्ष एजेन्सी मिलेर आईएसएस चलाउँछन् ।
सुनिता र विलमोर नासाका वरिष्ठ अन्तरिक्ष यात्री हुन् । उनीहरू दुवैजना यसअघि पनि अन्तरिक्षमा गइसकेका छन् । ६१ वर्षीय विलमोर र ५८ वर्षीया सुनिता उत्कृष्ट अन्तरिक्षयात्री हुन् ।
The post आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो appeared first on Samudrapari.