एनआरएन नागरिकता सम्बन्धी समस्या समाधानका लागि सरकार तयार छ: स्वास्थ्य मन्त्री पौडेल

क्यानडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।

एनआरएनए क्यानडाले एनआरएन डेको अवसर पारेर गत आइतबार आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले संवैधानिक व्यवस्था अनुसार नै नागरिकताको विषय समाधान हुने विश्वास दिलाए । संवैधानिक प्रावधान अनुसार कार्यान्वयन हुन केही समय लागे पनि एक पटक प्राप्त गरिसकेको अधिकार संस्थागत भइसकेको विषय भएकाले यसमा चिन्ता नलिन उनले आग्रह गरे । कानुनी प्रक्रियाहरु पूरा गरेर मन्त्रिपरिषद्सम्म लैजानका लागि आफूले सहजीकरण गर्ने पनि मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

यसैगरी मन्त्री पौडेलले जहाँकहीं भए पनि एक आपसमा मिलेर नेपालीको एकता प्रदर्शन गर्न आग्रह गर्दै एनआरएनएको अभियानले नेपाललाई धेरै कुरा प्रदान गरेको बताए । ‘बाहिर रहेर पनि नेपालसँग जोडिने र नेपाललाई योगदान पु-याउन खोज्ने तपाईहरुको प्रयास सह्रानीय छ । तर यो प्रयास एकताबद्ध तरिकाले होस् भन्ने चाहन्छौं । एनआरएनए सुरुमा एकदमै एताबद्ध थियो । तर अहिले त्यो एकता विगतको जस्तो अवस्थामा छैन । कतिपय नकारात्मक प्रभावहरु त्यहाँ पनि परिरहको हो कि जस्तो देखिएको छ । त्यसैले यी विषयमा करेक्सन गर्नको निम्ति यो अभियानमा लाग्ने सबैलाई हार्दिक अपिल गर्दछु,’ मन्त्री पौडेलले भने ।

कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपाल सरकारले नेपाली डायस्पोरासँग सम्बन्धित विषयलाई उच्च महत्व दिएको प्रष्ट पारे । उनले विगतका सबै सरकारहरुले गैर आवासीय नेपालीहरुको ज्ञान, सिप र पुँजीलाई राष्ट्रिय विकासमा प्रयोग गर्ने नीतिलाई निरन्तरता दिँदै आएको बताउँदै एनआरएनए नागरिकताको संवैधानिक प्रावधान एउटा महत्वपूर्ण उपलब्धि रहेको बताए । नेपाल कानुन आयोगले एनआरएन ऐन संशोधन गर्नका लागि मस्यौदा तयार गरेको जानकारी दिँदै राजदूत पौड्यालले सबै सरोकारवालाको गम्भीर छलफल र बहसमार्फत यसलाई अघि बढाउन जरुरी रहेको बताए ।

कार्यक्रममा एनआरएनए क्यानडाका नागरिकता विज्ञ राजेन्द्र प्रसाद प्रसाईंले एनआरएन नागरिकता वितरणको मनसाय ठीक भए पनि प्रक्रियागत त्रुटिले अहिले सम्म नागरिकता पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताए । उनले आर्थिक, सामाजिक सांस्कृतिक अधिकारसहितको नागरिकता पाउने भनेर संविधानमा उल्लेख भए पनि नियमावलीले थप प्रष्ट पार्न नसक्दा अझैं झन्झट बाँकी रहेको बताए ।

उनले भने ‘आर्थिक सामाजिक र सांस्कृतिक अधिकार नेपाली नागरिक सरह पाउने भनिएको छ । तर ती अधिकार के के हुन् भन्ने ’bout नियमावली अस्पष्ट भएकाले पनि अप्ठेरो भएको हो । अहिले हाम्रो कानुनी झमेलाका कारण गैर आवासीय नेपाली नागरिकता बाहकका नावालक छोरा छोरीले नेपाल जाँदा धेरै समस्या भोग्नु परेको छ,’ प्रसाईंले भने। उनले संसारभरका ४९ देशले दोहोरो नागरिकताको अभ्यास गरिरहेको पनि बताए।

एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले संस्थाका गतिविधिहरु’bout जानकारी गराउँदै पछिल्लो समय क्यानडामा नेपालीहरुको संख्या बढेसंगै समस्याहरु पनि बढेको बताए । उनले पछिल्लो ३ वर्ष यता क्यानडामा लगातार नेपालीहरुको संख्या बढेर करिब १ लाख पुगेको जानकारी दिए ।

‘विद्यार्थी र वर्क परमिटमा क्यानडा आउने नेपालीहरुको संख्या विस्तारै बढेको छ । विद्यार्थीहरुलाई हाउजिङ र जबको समस्या छ । त्यसका लागि एनआरएन क्यानडाले न्युकमर एन्ड स्टुडेन्ट सपोर्ट टास्कफोर्स गठन गरेका छौं ।’

त्यसैगरी वर्क परमिटमा आउनेहरुले लाखौं खर्च गरेर आउने तर समयमा काम नपाउने र कामबाट निकालिने समस्या पनि बढ्दो रहेकाले त्यसको समाधानका लागि विज्ञहरुलाई अनुरोध गरेर काम गरिरहेको पनि बताए ।

संस्थासँग श्रोत कम रहेकाले एनआरएन क्यानडाको अफिस सेटअप गरी स्टाफ राख्न संघीय र प्रान्तीय सरकारहरु संग अनुदानका लागि निवेदन दिने र दीर्घकालिन रुपमा नेपाल र नेपाली समूदायलाई सहयोग गर्ने योजना पनि उनले सुनाए । एनआरएनए क्यानडाका चेयरपर्सन प्रज्वल कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव चन्दा अधिकारीले गरेकी थिइन्। कार्यक्रममा एनआरएनए क्यानडाका प्रवक्ता सुशीलराज भुसालले सबैलाई धन्यवाद दिए भने पूर्व अध्यक्ष अनिल थापा लगायतका वक्ताले आफ्नो धारणा राखेका थिए ।

The post एनआरएन नागरिकता सम्बन्धी समस्या समाधानका लागि सरकार तयार छ: स्वास्थ्य मन्त्री पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102685/