एनपीएलको टिकटिङ पार्टनरमा ‘खल्ती’
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महाउत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । यो लिगले देशभित्र र अन्तराष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा सबै पक्षहरू विश्वस्त छन् ।
क्रिकेट प्रेमी फ्यानहरूको उत्साह चरम बिन्दुमा छ भने उनीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन् । केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्नेछन् ।
अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै लिन सक्नेछन् । पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रति दिन साधारण टिकटको मूल्य रु ३०० साथै भिआइपी टिकटको मूल्य रु ५०० तोकिएको छ ।
प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानहरूले सबै खेलको एकमुस्ट-सिजन पास पनि लिई सक्नेछन् । साधारणको मूल्य रु ४,४८० र भिआइपी टिकटको मूल्य रु ८,२४० तोकिएको छ ।
मंसिर १५ बाट टियु अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुन गइरहेको एनपीएल मा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ ।
Source : https://arthasarokar.com/2024/11/pockets-in-ticketing-partner-of-npl.html