फिलिपिन्सको ‘मनिला बे’ क्षेत्रमा आगलागी, २ हजार परिवार घरबारविहीन

काठमाडौं – फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा आइतबार भएको भीषण आगलागीबाट दुई हजार परिवार घरबारविहीन भएका स्थानीय अधिकारीले बताएका छन् ।

मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरूलाई बताएअनुसार मनिलामा आइतबार भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन् । फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको बस्तीमा लागेको आगो निभाउन हेलिकप्टरहरू पठाएको थियो । फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चार वटा दमकल पठाएको जनाएको छ ।

आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए । यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगो सबैतिर फैलिएको भएको रामोसले बताए । उनका अनुसार साँघुरो सडकका कारण आगो नियन्त्रणमा लिन समस्या भएको थियो । आगलागीपछि भागेका बासिन्दा सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको थियो ।

मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले स्थानीय समयअनुसार दिउँसो २ बजे आगलागी भएको जनाएको छ । अहिलेसम्म कुनै हताहत भएको खबर प्राप्त नभए पनि आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post फिलिपिन्सको ‘मनिला बे’ क्षेत्रमा आगलागी, २ हजार परिवार घरबारविहीन appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/496952/