एमालेद्वारा १ लाख जरिवानाको पत्र बुझ्न अस्वीकार, महानगरको टोली खाली हात फर्कियो
काठमाडौं – काठमाडौँ महानगरपालिकाले एमाले पार्टीलाई एक लाख रुपैयाँ जरिवानाको पत्र बुझाउन गरेको प्रयास असफल भएको छ । मेयर बालेन शाहको निर्देशनमा भएको जरिवानाको पत्र आइतबार महानगरपालिकाको टोलीले च्यासलस्थित एमाले पार्टी कार्यालयमा लगे पनि, उक्त पत्र बुझ्न एमालेले अस्वीकार गरेको हो ।
महानगरपालिकाको प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराईका अनुसार पार्टी कार्यालयमा पत्र देखाएर बुझाउन प्रयास गरे पनि एमालेका प्रतिनिधिहरूले दर्ता गर्न मानेनन् । ‘उहाँहरूले पत्र हेर्नुभयो र पढ्नुभयो, तर दर्ता गर्न अस्वीकार गर्नु भयो। त्यसपछि हामी पत्र बोकेर फिर्ता आएका छौं,! उनले भने ।
एमाले पार्टी कार्यालयका प्रतिनिधिहरूले दरबारमार्गमा भएको कार्यक्रममा काठमाडौं जिल्ला कमिटीको संलग्नता भएको जनाउँदै जरिवानाको पत्र त्यहीं बुझाउन सुझाव दिए । काठमाडौँ महानगरपालिकाले मंसिर ७ गते दरबारमार्गको खुला सडकमा भएको जागरण सभामा जथाभावी फोहोर गरेको आरोपमा एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो । महानगरका अनुसार फोहोरको व्यवस्थापन नगरेकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको हो ।
The post एमालेद्वारा १ लाख जरिवानाको पत्र बुझ्न अस्वीकार, महानगरको टोली खाली हात फर्कियो appeared first on Samudrapari.