कम्बोडिया पुगेका सीके राउतले गरे प्रधानमन्त्रीको आलोचना
काठमाडौं – कम्बोडिया पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् । एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औँ साधारण सभामा भाग लिन त्यहाँ पुगेका उनले ओलीको आलोचना गरेका हुन् ।
कोम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटेपछि जनमतका अध्यक्ष राउतले सो गुनासो गरे । हुन सेनसँगको भेटपछि उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचोसँग भेटवार्ता, बरू नेपालकै प्रधानमन्त्री भेट्न साह्रै गाह्रो ।’
प्रधानमन्त्री ओली नेतृत्वको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी पनि रहेको छ । जनमत पार्टीले ओली नेतृत्वको संघ सरकारलाई समर्थन जनाएका छ भने मधेस प्रदेश सरकारको नेतृत्व गरेको छ । सत्ताधारी दलकै अध्यक्ष राउतले देशका प्रधानमन्त्रीलाई भेट्न नपाएको गुनासो कम्बोडियामा गएर गरेका छन् । त्यसमा पनि त्यहाँका प्रधानमन्त्री हुन सेनसँगको तस्बिर राखेर टिप्पणी गरेकोमा त्यसको आलोचना भइरहेको छ ।
The post कम्बोडिया पुगेका सीके राउतले गरे प्रधानमन्त्रीको आलोचना appeared first on Samudrapari.