भत्ता बढाएपछि एकैपटक बिरामी भएका निगमका पाइलट…
काठमाडौं – आइतबार नेपाल एयरलाइन्सका स्थायी पाइलटहरूले करारका पाइलटलाई बढी सेवा सुविधा दिएको भन्दै अघोषित हडताल गरे । हडतालका कारण काठमाडौंबाट अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाने र नेपाल आउने यात्रुहरूलाई ठूलो असुविधा भयो ।
विगतमा ‘सी-चेक’का कारण नियमित उडानमा समस्या झेलेको एयरलाइन्स आइतबार आफ्नै पाइलटहरूको हडतालका कारण पुनः आलोचित भयो । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण गरिरहेको र कात्तिक २३ गतेदेखि ३० प्रतिशत उडान कटौती गरेको छ । उडान कटौतीको कारणले उच्च भाडा तिर्नुपर्ने बाध्यता यात्रुहरूमा परेको छ ।
राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदा यात्रुहरूलाई थप असुविधा भएको छ । यस्ता अवस्थाबीच आइतबार स्थायी पाइलटहरूले अघोषित रूपमा बिरामी र घरायसी बिदाको कारण देखाउँदै हडताल गरेपछि यात्रुहरूको हैरानी थपिएको छ ।
नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी विमान छन् । तर, आइतबार आठ जना स्थायी पाइलटले आन्दोलनमा उत्रिँदा मुम्बई उडान आठ घण्टा ढिलो भयो भने दुवईको उडान नै रद्द गर्नुपरेको थियो । यसले गर्दा यात्रुहरू विमानस्थलमा अलपत्र परेका थिए ।
यो पनि : वायुसेवा निगमका पाइलटहरु आन्दोलित, खलबलियो अन्तर्राष्ट्रिय उडान तालिका
नेपालको अनिवार्य सेवा ऐन अनुसार हवाई मार्गमा यात्री वा मालसामान ओसारपसार गर्ने सेवामा हडताल गर्न पाइँदैन । यद्यपि, पाइलटहरूले बिरामी र घरायसी कारणको आडमा उडान ठप्प पारेका हुन् । यात्रुहरूले निगमलाई पाइलटको आन्दोलनबारे समयमै जानकारी नगराएको र विमानस्थलमा बोलाएर अलपत्र पारेको आरोप लगाएका छन् ।
नेपाल एयरलाइन्समा हाल ४३ जना स्थायी पाइलट कार्यरत छन् । करारमा रहेका पाइलटहरूले १० देखि १२ लाखसम्मको तलब र भत्ता पाउँदा स्थायी पाइलटहरूको तलब र सुविधा कम भएकोले उनीहरूले आन्दोलन सुरु गरेका हुन् । पाइलटहरूको मागमा तलब र भत्ता वृद्धि मुख्य विषय रहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । ‘तलब भत्ता बढाउने विषयमा प्रयास जारी छ,’ पौडेलले भने, ‘सोमबारबाट उडान नियमित हुनेछ ।’
The post भत्ता बढाएपछि एकैपटक बिरामी भएका निगमका पाइलट… appeared first on Samudrapari.