कम्युनिस्ट आन्दोलनको ७५ वर्ष: कम्युनिस्ट नेताका विचार एक व्यवहार अनेक
काठमाडौं ।
नेपालमा कम्युनिस्ट नेताहरूको विचारमा एकता देखिए पनि राजनीतिक व्यवहारतः छिन्नभिन्न भएर अनेकन गुटउपगुटमा विभाजन भएका छन् । कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पूरा भइसक्दासमेत कम्युनिस्ट नेताहरूले एकताको कुरा छाडेका छैनन् भने व्यवहारमा गुट र फुटको संस्कृतिलाई थप मलजल गरिरहेका छन् ।
कम्युनिस्ट पार्टीका नेताहरूले आवरणमा वैचारिक दृष्टिकोणमा भिन्नता देखाएर गुट र फुटको राजनीति गरिरहेका छन् । तर, उनीहरूको वास्तविकता त्यस्तो नभई पद प्रतिष्ठा र सांगठनिक जिम्मेवारीमा कुरा नमिल्दा पार्टी विभाजन गराएर सानो झुण्डको भए पनि आफैंले नेतृत्व गर्ने अभ्यास देखिएको वाम विश्लेषक मुमाराम खनालको भनाइ छ।
‘नेपालमा कम्युनिस्ट आन्दोलनले सफलता पाउन नसक्नुमा व्यक्तिवादी प्रवृत्ति हाबी हुनु हो’, उहाँले भन्नुभयो–‘एकातिर नेताहरू कम्युनिस्ट एकताको कुरा गरिरहने अर्कोतिर तिनै नेताहरूबाट पार्टी विभाजनको सिकार बन्नुपरेको अवस्था छ । आफूलाई वास्तविक कम्युनिस्ट वा वामपन्थी भन्नेहरूले नै सानासाना झुन्डहरू निर्माण गर्ने र आत्मरतिमा रमाउने गरेको अवस्था छ भने ठूला कम्युनिस्ट पार्टीका नेतृत्वले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र नयाँ नेतृत्व विकासमा रोक लगाएका कारण पनि यो अवस्था आएको छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक कम्युनिस्ट पार्टीले आफूले गरेका कामको समीक्षा गर्नुपर्ने बताउनुभएको छ । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्म शताब्दी कार्यक्रमको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीभित्र गम्भीर समीक्षा गर्नु आवश्यक छ । एक ठाउँमा बसौँ भनेर आदर्शका कुरा गरेर हुँदैन। द्वन्द्वात्मक भौतिकवादी वस्तुवादी ढङ्गले गम्भीर समीक्षा हुनुपर्छ।’
कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या बोलाइ र गराइमा फरक भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन पनि उहाँले अपिल गर्नुभयो । दाहालले यसो भनिरहँदा उहाँकै दलमा समेत नेतृत्व हस्तान्तरणको अभ्यास नहुँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले पार्टी नै छाड्नुपर्ने अवस्था आएको थियो । ३५ वर्षसम्म पार्टी नेतृत्वमा प्रचण्ड नै हाबी हुनुहुन्छ। यद्यपि, उहाँले अरुलाई समीक्षाको पाठ सिकाइरहँदा आफूमाथि आफैंले समीक्षा गर्नुपर्ने कतिपय कम्युनिस्ट नेताहरूले टिप्पणी गरेका छन्।
ठूला राजनीतिक दल र पछिल्लो समयमा फुटेका अधिकांश कम्युनिस्ट घटकहरू एकठाउँ हुँदा अहिले ६० प्रतिशत भन्दा बढी जनमत कम्युनिस्टकै छ । तर, उनीहरू आफूआफैं लडेर छिन्नभिन्न हुने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर बनेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनभित्र भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दाबी गर्नुभयो। कम्युनिस्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको टिप्पणी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीले यहाँ अवसरहरू पाएको छ। र भूमिका पनि खेलेको छ। त्याग, तपस्या, बलिदानको कीर्तिमान नै कायम गरेको छ। कीर्तिमान कायम गरेको चिज नै हाम्रो पुँजी पनि हो । तर, हिजोआज अहिले चरम रूपमा व्यक्तिवाद हाबी भएको छ । स्वार्थी प्रवृत्ति हाबी भएको छ । मलाई, मपाइँ प्रवृत्ति म भन्ने प्रवृत्ति हाबी भएको छ । मैले के पाएँ भन्ने छ । नेपालको राजनीतिमा पनि र कम्युनिस्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या हो ।’
भ्रष्टाचारका विरुद्धमा जुध्दै जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा कम्युनिस्टहरू चुकेको उहाँको टिप्पणी छ । लामो समय नेकपा एमालेको नेतृत्व गर्नुभएका माधव नेपालले पछिल्लो समय नेतृत्वमा केपी ओली आएदेखि छायामा हुनुहुन्थ्यो । २ वर्ष अघिमात्रै उहाँले एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुभएको हो । त्यस्तै, एमाले माओवादीबाट टुक्रँदै गएका साना कम्युनिस्ट पार्टीहरू पछिल्लो समय दर्जन बढी समूहमा विभाजन भएर आ–आफ्नै डम्फु बजाउन व्यस्त छन्।
यसरी हेर्दा कम्युनिस्ट तथा वामपन्थीहरूको बोली र व्यवहारमा पूर्णतया फरक देखिएको छ । यसले कम्युनिस्टहरूको शक्ति सञ्चलयमा ह्रास आइरहेको नेताहरूले स्वीकार गरेका छन् । कम्युनिस्ट पार्टीबीच पूर्वाग्रह त्यागेर एकताबद्ध भएर बढ्ने प्रयास गर्न आग्रह गर्दै हिँडेका नेताहरू नै एकताको पक्षमा नरहेकाले समस्या आएको अधिकांश कम्युनिस्ट कार्यकर्ताहरूको आरोप छ।