करिब १७ प्रतिशतले राजस्व सङ्कलन वृद्धी
काठमाडौं– चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को यसै अवधिको तुलनामा यस वर्ष राजस्व संकलन दर १६.८५ प्रतिशतले बढेको हो ।
अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो। चालू आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको छ। यो लक्ष्य भनेको गत आर्थिक वर्षको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो।
यसैमध्ये चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व सङ्कलन भएको छ।