गैरआवासीय नेपालीलाई लगानीको बाटो खुल्यो !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका २०८१ जारी गरेको छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासन र कारोबार सम्बन्धी विशेष व्यवस्था गर्दै बोर्डले निर्देशिका जारी गरेको हो । 

संशोधनसहित जारी गरिएको निर्देशिकामा गैरआवासीय नेपालीको लगानी भित्र्याउन संयुक्त लगानीका इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासन तथा कारोबार सम्बन्धी विशेष व्यवस्था गरेको छ । 

योसँगै अब नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले सेयर जारी गर्न चाहेमा ऐन, नियमावली तथा यस परिच्छेद अनुसार प्रक्रिया पूरा गरेर सेयर निष्कासन गर्न सक्नेछन् । 

निर्देशिका अनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले सेयर निष्कासन गर्दा जारी पूँजीको १० प्रतिशतभन्दा कम र ४९ प्रतिशत भन्दा बढी नहुनेगरी गैरआवासीय नेपालीका लागि मात्रै सेयर निष्कासन गर्नुपर्नेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गर्ने सेयरको दरखास्त खुला रहने अवधि कम्तीमा ४ कार्य दिन रहनेछ । निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा कम्पनीले त्यस्तै दरखास्त खुला भएको मितिले बढिमा १५ दिनका लागि सेयरको दरखास्त खुला राख्न सक्ने निर्देशिकामा उल्लेख छ । तर, त्यसको जानकारी भने बोर्डलाई जानकारी गराउनुपर्नेछ । 

त्यस्तै, संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने सेयरको बिक्री खुला गरिने दिनभन्दा कम्तीमा ७ कार्यदिन अगाडि आह्वानपत्र राष्ट्रिय दैनिक पत्रिका र निष्कासनकर्ता कम्पनीको वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ । यस्ता कम्पनीले निष्कासन गर्ने सेयरमा दरखास्त दिन सकिने न्यूनतम सीमा १ हजार कित्ता र अधिकतम सोको गुणांकमा हुनेगरि व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

गैरआवासीय नेपालीका लागि आवेदन दिने व्यवस्था आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट गर्न सक्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ । यस्तो छ धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका २०८१:

dhitopatra nirdeshika

Source : https://arthasarokar.com/2024/11/non-resident-nepalis-have-opened-the-way-for-investment.html