घुस लिँदै गर्दा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह पक्राउ

अख्तियार अनुसन्धानको कार्यालय हेटौडाको टोलीले सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साहलाई ७८ हजार घुस सहित पक्राउ गरेको छ ।

अख्तियारको कार्यालय हेटौडाबाट आएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर-४ स्थित रहेको कार्यालय प्रमुख बस्ने निवासबाट घुसको सो रकम लेनदेन गरिरहेको अवस्थामा नै रंगेहात पक्राउ गरिएको अख्तियारको कार्यालय हेटौडाका सूचना अधिकारी गोविन्द गौतमले जानकारी दिनुभयो ।

पालिकाको खाजा खाएको एक होटेलको भुक्तानी गरिदिनका लागि रु ८० हजार घुस मागेको पीडितको निवेदन अनुसार नै साहलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता गौतमले भन्नुभयो । जननिर्वाचित प्रतिनिधि , सञ्चारकर्मी सहितको रहाेबरमा मुचुल्का पुरा गर्ने काम भई पक्राउ परेका निमित्त प्रशासकीय अधिकृत साहलाई हेटौडा ल्याउने काम भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

दिउसो १ बजेको समयमा पैसा लिएर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिन गएको बेलामा पक्राउ गरिएको थियो प्रवक्ता गौतमले बताउनुभयो । पक्राउ पेका निमित्त प्रमुख प्रशासकीय अधिकृतका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रमुख उमाकान्त आचार्यले जानकारी दिनुभयो ।

The post घुस लिँदै गर्दा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह पक्राउ appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/24/100225/