जर्ज मुन्सेले ओडिआई सिरिज गुमाउने

एजेन्सी ।

ग्रोइन इन्ज्युरीका कारण स्कटल्यान्डका विष्फोटक ब्याट्सम्यान जर्ज मुन्सेले अमेरिकामा हुने त्रिदेशीय ओडिआई सिरिज गुमाउने भएका छन्। स्कटल्यान्ड क्रिकेट बोर्डले एक विज्ञप्ति निकालेर मुन्सेले सिरिज गुमाउने जानकारी गराएको हो।

अमेरिकामा नेपाल, घरेलु टोली र स्कटल्यान्डबीच विश्व कप लिग–२ अन्तर्गतको त्रिदेशीय ओडिआई सिरिज हुँदैछ। ओडिआई सिरिज कार्तिक ९ देखि १९ गतेसम्म चल्नेछ। स्कटल्यान्ड क्रिकेट बोर्डले मुन्सेको स्थानमा माइकल इंङ्लिसलाई टोलीमा समेटेको छ। माइकललाई एउटा मात्र ओडिआई खेलेको अनुभव छ। नामिबियाविरुद्धको ओडिआई डेब्यु खेलमा नै माइकलले शतक प्रहार गरेका थिए।

चोटग्रस्त मुन्सेले भने ५९ ओडिआई खेलमा १ हजार ८ सय ९५ रन बनाएका छन् । मुन्सेले नेपालविरुद्धको ५ ओडिआई खेलमा १ सय २४ को स्ट्राईक रेटमा १ सय २६ रन बनाएका छन्। सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ।

नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ। सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुनेछ।

Source : https://newsofnepal.com/2024/10/20/674294/