ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारबाही, थप ४ सय मोबाइल उपलब्ध गराउने तयारी

–प्रदेश मन्त्री महर्जन भन्नुहुन्छ : तिहारलगत्तै दिँदै छौं

काठमाडौं ।

सरकारले नागरिक एपमा ट्राफिक नियम उल्लंघन अभिलेख थपेसँगै नियम उल्लंघन गर्नेमाथि कारबाही गर्न थप मोबाइल उपलब्ध गर्ने भएको छ। वागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले थप ४ सय मोबाइल उपलब्ध गराउने भएको छ। हाल प्रयोग भएका १ सय ४ वटा मोबाइलले उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारबाही गर्न अपुग भएका कारणले थप ४ सय मोबाइल उपलब्ध गराउन लागेको हो ।

वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले तिहारलगत्तै ४ सय मोबाइल ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘उपत्यकामा ट्राफिक उल्लंघन गर्नेमाथि कारबाही गर्न मोबाइलको कमी भएकाले संख्या थप्न लागेको हो ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १८ गते ट्राफिक प्रहरीलाई लाइसेन्स स्क्यान गर्ने विशेष किसिमको एनरोइड स्मार्टफोन (डिभाइस) उपलब्ध गराएको थियो ।

उपत्यकामा सवारी उल्लंघन कारबाही गर्न कम्तीमा पनि १ हजार मोबाइल आवश्यक पर्ने आँकलन गरिएको छ । मन्त्री महर्जनले एक हजारवटै मोबाइल उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो । ‘तिहारलगत्तै ५ सय हुन्छ, त्यसपछि थप ५ सय गरी १ हजार मोबाइल ट्राफिकलाई दिने तयारी भइरहेको छ’ –मन्त्री महर्जनले भन्नुभयो ।

सरकारले ट्राफिक प्रहरीलाई मोबाइल हस्तान्तरण गरेलगत्तै अस्ति आइतबारबाट ट्राफिक प्रहरीले एपमार्फत् जरिवाना लिन शुरू गरेको हो । प्रदेशमन्त्री श्रम यातायात तथा रोजगार मन्त्री महर्जनले कारबाहीमा खटिने सबै ट्राफिकलाई मोबाइल दिन लागेको हो। ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन कार्कीले सरकारले उपलब्ध गराएको मोबाइलमार्फत् जरिवाना लिन शुरू गरिएको बताउनुभयो।

उहाँका अनुसार अब ट्राफिक प्रहरीले लाइसेन्स खोसेर चिट काट्नेभन्दा पनि मोबाइलबाट क्यूआर गरी जरिवानाको विवरण उल्लेख गरेपछि अनलाइनमार्फत् जरिवाना भुक्तानी गर्ने व्यवस्था गरेको छ। नागरिक एपमा नयाँ अपडेट आएसँगै लाइसेन्स लिङ्क गरेपछि लाइसेन्ससँगै क्यूआर कोड देखिन्छ।

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ट्राफिक भोयलेसन रजिस्ट्रेसन सिस्टम (टीभीआरस) जडित मोबाइल फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएका छौं, त्यसैबाट लाइसन्सको विवरण हेर्ने र जरिवाना तिर्ने व्यवस्था भएको छ’ –मन्त्री महर्जनले नेपाल समाचारपत्रसँग भन्नुभयो। चालकले डाउनलोड गरेको नागरिक एपमा देखिएको क्यूआर कोड ड्युटीमा रहेका ट्राफिक प्रहरीले स्क्यान सबै विवरण खुलेको हुन्छ।

ट्राफिक प्रहरीका अनुसार जरिवाना तिर्दा ई–सेवा वा खल्तीजस्ता डिजिटल वालेट प्रयोग गर्ने व्यवस्था गरेको छ। यदि, चालकसँग डिजिटल वालेट नभएको खण्डमा भने चिट नम्बर कसैलाई पठाएर भुक्तानीका लागि अनुरोध गर्न सकिन्छ। जरिवाना नतिरेको खण्डमा भने एपमा क्यूआर कोड देखिँदैन। क्यूआर कोड नदेखिए लाइसेन्सको जरिवाना तिरेको छैन भन्ने बुझिन्छ । ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीले जरिवानासँगै अनलाइनबाटै कक्षा लिने व्यवस्था गर्न लागेको छ।

निरक्षर चालकलाई भौतिक लाइसेन्स नै मान्य

निरक्षर र नागरिक एप प्रयोग नगर्ने सवारी चालकका लागि केही समयका लागि भौैतिक लाइसेन्स मान्य हुने भएको छ। ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीले निरक्षर र एप डाउनलोड नगरेका चालकको सन्दर्भमा उनीहरूले भौतिक लाइसेन्स देखाए मान्य हुने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘सबै चालक पढेका हुँदैनन्, सबैसँग एनरोइड फोन हुँदैन, फोन र निरक्षर चाकलका लागि भौतिक लाइसेन्स मान्य हुनेछ ।’ उहाँका अनुसार सबैले एप डाउनलोड गर्न सक्ने गरी अनलाइन कक्षाको थालनी गर्नुपर्ने बताउनुभयो।

पढ्न र एप डाउनलोड गर्न नसक्ने चालकले ट्राफिक नियम उल्लंघन गरेको खण्डमा प्रहरीले लाइसेन्स लिन्छन्। उक्त लाइसेन्स लिन चालक सम्बन्धित कार्यालयमा पुग्नुपर्ने हुन्छ।

Source : https://newsofnepal.com/2024/10/22/674603/