पक्राउ पूर्जी जारी भएपछि रविले लेखे, ‘सरकार मर्यो हामीलाई जुठो पर्यो’

काठमाडौं– पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सरकार मरेको अभिव्यक्ति दिएका छन् । शुक्रबार साँझ कास्की जिल्ला अदालतबाट लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएसँगै उनले यस्तो बताएका हुन् ।

‘सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो’ भन्दै उनले प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी?’

उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?’

पछिल्लो समयमा नेकपा एमालेले पार्टि कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको प्रसंगलाई निकाल्दै उनले ओलीले प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिएको र ठगीको आरोप आफूले खेप्नुपरेको आरोप लगाएका छन् ।

आफ्नो विरुद्ध केही प्रमाण नभेटिएपनि दुई तिहाईको सरकार र सत्तापक्षको नेता जोगाउन आफूलाई बलि चढाउन लागिएको उनले आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?’

उनले थप लेखेका छन्, ‘यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता रकार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ।’

सरकारबाट पीडितले न्याय नपाउने भन्दै सहकारी पीडितको आवाजको नेतृत्व आफूहरुले गर्नेसमेत उनले बताएका छन् । उनले कानुनलाई पूर्णरुपमा सहयोग गर्ने बताउँदै सत्तापक्षको दिनगन्ती सुरु भएको समेत उनले चेतावनी दिएका छन् । उनले आफ्ना पार्टीका कार्यकर्ताले आफु सहकारी ठग नभएको भन्दै शिर ठाडो राख्नसमेत अनुरोध गरेका छन् ।

Source : https://onlinetvnepal.com/2024/10/184926/