प्रहरीले बरामद गरी भन्सार बुझाएको सामानको मूल्याङ्कन बढी

धनगढी ।

भन्सार छली चोरी निकासी तथा पैठारी गर्न लागेका सामान बरामद गरी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले कैलाली भन्सार कार्यालयमा बुझाएका सामानहरूको मूल्य बढी हुँदा लिलाम विक्रीका समस्या भएको छ।

राजस्व असुली रकम बढी देखाउन अवैधरुपमा नेपाल भित्रँदै गरेको सामान बरामद पछि कैलाली भन्सार कार्यालयमा बुझाउने सामानको रकम बढी राखेर दाखिला गर्ने भएकाले लिलाम प्रक्रियामा समस्या आएको छ।

बजार मूल्य भन्दा कैयौँ गुणा बढी मूल्य राखेर बरामद गरेका सामान भन्सार कार्यालयमा दाखिला गर्ने गरेपछि यस्तो समस्या देखिएको हो । भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेका सामानहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बरामद गरी मुचुल्का बनाई भन्सार कार्यालय बुझाउने गरेका छन्।

प्रहरीले भन्सार कार्यालयमा बुझाउने सामानको मूल्य अव्यावहारिक हुँदा लिलाम पक्रियामा ढिलाइ हुने गरेको कैलाली भन्सार कार्यालय कैलालीले जनाएको छ । बरामद गरी भन्सार बुझाएका सामानहरू बजार मूल्य भन्दा सय गुणा बढी मूल्य राखेर भन्सारमा दाखिला गरेका कारण लिलाम बोल्न कोही नआउने गरेको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले तोकेको मूल्य भन्दा बढी र बजार मूल्य भन्दा निकै बढी मूल्य राखेर सामान भन्सार बुझाउँदा लिलाम विक्री हुन नसकेको कैलाली भन्सार कार्यालयका सूचना अधिकृत तेज बहादुर रावलले बताए। बजार मूल्य भन्दा बढी भन्सारमा बरामद गरेको सामानको मूल्य बढी भएकाले कोही पनि लिलाम बोल्न नआएको रावलले बताए। लिलाम बोल्नेहरूले पनि केही फाइदा होला भनेर आउने हुन तर बजार भन्दा पनि कयौँ गुणा बढी मूल्य हुने गरेकोले लिलाममा समस्या आएको उनको दाबी छ।

सुरक्षा निकायबाट अवैधरुपमा बरामद गरेका सामान भन्सारमा राख्ने ठाउँको अभाव हुन लागेको छ । समयमा लिलाम विक्री नहुँदा भन्सार कार्यालयका गोदामहरू भरिएर कार्यालयका कार्य कक्षहरू पनि भरिन लागेको कैलाली भन्सार कार्यालय मुद्दा फाँटका कपिल पोखरेलले जानकारी दिए। अब निकट भविष्यमा बरामद गरेका सामान राख्ने ठाउँ नभएपछि खुल्ला आकाशमा राख्नुपर्ने अवस्था आउने उनको भनाइ छ। बढी मूल्य भएकाले सामान लिलाम विक्री हुन नसक्दा राज्यलाई राजश्व घाटा लाग्ने गरेको छ।

लामो समय सम्म लिलाम विक्री नहुँदा बरामद गरेका सामाग्रीहरु खराब हुने र विक्री नहुने भएपछि राजस्व बढ्नुको साटो घाटा हुने देखिएको कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तितिल्सेनाले बताए। उनका अनुसार प्रहरी प्रतिवेदन मूल्याङ्कन अनुसार लिलाम विक्री हुन नसक्दा राजस्व घाटा हुने गरेको छ।

मूल्याङ्कन समितिले पनि धेरै घटाउन नसक्ने भएकाले बरामद सामग्री लिलाम पक्रियामा लैजान सक्ने अवस्था छैन । एक दुई पटक त प्रयास हुन्छ तर धेरै घटाउन समितिले पनि नमान्ने भएपछि लिलाम प्रक्रिया त्यतिकै अल्झिदा सामान गोदाममा थन्कने गरेको उनले बताए। उल्टै मूल्याङ्कन समितिको बैठक राख्दा सदस्यहरूलाई भत्ता दिँदा राजस्व घाटा हुने गरेको तर्क प्रमुख तिमिल्सेनाको छ ।

आर्थिक वर्ष २०८१ साल साउनदेखि कार्तिक मसान्त सम्म ६८४ वटा मुद्दा दर्ता भएका छन् । जसमा सशस्त्र प्रहरीले ४७५ मुद्दा दर्ता गरेको छ । जसमा ३ करोड ३६ लाख ४९ हजार रकम दाबी गरेको छ भने जनपथ प्रहरीले २०७ मुद्दा दर्ता गरेकोमा १ करोड ८३ लाख ४५ हजार बिगो दाबी गरेको छ । यस बीचमा १५८ मुद्दा फर्स्योट गरेको छ । जसबाट २९ लाख ४६ हजार राजस्व सङ्कलन भएको छ।

बरामद सामाग्रीहरुमा सुर्तीजन्य सामग्री,लत्ताकपडा,चिनी,आलु,प्याज तथा झिल्ली लगायतका सामानहरू रहेका छन्। यस बारेमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका अनुसार आफूहरूले बरामद गरेको सामानहरूको मूल्य बजार भाउ भन्दा कम राखेर बुझाउने गरेको दाबी गरे।

‘प्रहरीले चोरी निकासीमा कडाइ गर्ने हो राजस्व बढाउने हाम्रो दायित्व होइन’ प्रहरी उपरीक्षक विष्टले भने। उता सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले आफूहरूले बरामद गरेर बुझाएको सामान भन्सार कार्यालयले आफ्नो तजबीजमा लिलाम विक्री गर्न सक्ने बताए। हामीले अनुमानित मूल्य राख्ने हो अरू के कतिमा लिलाम गर्ने हो भन्सार कार्यालयले गर्ने भएकाले राजस्व प्रभावित आफूहरूबाट नभएको उनको भनाइ छ।

Source : https://newsofnepal.com/2024/11/25/679891/