भाइटिकाको दिन र भोलीपल्ट पानी पर्ने सम्भावना

काठमाडौं– यसपालिको तिहारमा वर्षा हुने सम्भावना देखिएको छ । तिहारको भाइटीकाको दिन देशका अधिकांश ठाउँमा वर्षा हुने पूर्वानुमान गरिएको हो ।

पश्चिमी वायुको प्रभावले कात्तिक १८ गते अर्थात् भाइटिकाको दिन र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले देखाएको छ ।

भाइटिकाको दिनभन्दा त्यसको भोलीपल्ट (सोमबार) अझ धेरै वर्षा हुने सम्भावना छ । आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेश, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

सामान्यतया पश्चिमी वायु मेडिटेरियन रिजनबाट आउँछ । यसले वायुमण्डलको माथिल्लो भागमा जलवाष्पयुक्त हावा ल्याउँदै छ भने अरेबियन सागरबाट वायुमण्डलको तल्लो भागमा जलवाष्पयुक्त हावा आउने छ । यी दुवै मिसिएर नेपालमा पानी पार्ने सम्भावना देखिएको हो ।

यो पानी वर्षायाममा जस्तो झरी नहुनेभएकाले यात्रामा खासै असर नपार्ने पूर्वानुमान गरिएको छ ।

यस वर्ष जुन १० अर्थात् जेठ २८ गते नेपाल भित्रिएको मनसुन १२५ औं दिनमा असोज २६ गते देशभरबाट बाहिरिएको थियो । यस वर्ष मनसुन बाहिरिएपछि पनि ठाउँ–ठाउँमा वर्षा भइरहेको छ ।

यस क्रम जाडोयाममा पनि देखिने भएको छ । यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

Source : https://onlinetvnepal.com/2024/10/185443/