भाइरसका कारण धमाधम कुकुर मर्न थाले
दोलखा।
दोलखा सदरमुकाम चरिकोट (भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ ) तथा भीमेश्वर नगरपालिकाका अन्य वडाहरुमा समेत धमाधम कुकुरहरू मर्न थालेका छन्।
झन्डै तीन हप्ताको अवधिमा ३० भन्दा बढी कुकुरहरू मरेको भीमेश्वर नगरपालिकाका नायव पशुसेवा प्राविधिक शङ्कर पाठकले बताए । मृत्यु भएका कुकुरहरूमा पाइएको लक्षण क्यानाईन डिस्टेम्पर भाइरसको जस्तो देखिएको पाठकले बताए ।
खाने कुरा नखाने, वान्ता गर्ने, ¥याल चुहाउने, पखाला लाग्ने जस्ता लक्षण देखिएको केही दिनमै कुकुर मर्ने गरेको नगरपालिकाका नायव पशुसेवा प्राविधिक पाठकको भनाई छ । त्यसरी मरेका कुकुरहरूमा अधिकांश सडकमा छाडा छोडिएका कमजोर कुकुर रहेका छन् भने केही घरपालुवा कुकुरसमेत मरेको पाठकको भनाई छ ।
सदरमुकाम चरिकोटकोटको चरिघ्याङ आसपासमात्र ९ भन्दा बढी कुकुर मरेको चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दावा तामाङले बताए । सडकमा छाडा छोडिएका बिरामी कुकुरहरुलाई नगरपालिकाले उपचार तथा बस्ने व्यवस्था गरिदिनु पर्ने चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष तामाङ बताउँछन् ।
भीमेश्वर नगरपालिकाले सडकमा छाडा छोडिएका कुकुरहरूको बन्ध्याकरण गर्ने अभियान सुरु गरेको केही समयपछि धमाधम कुकुरहरू मर्न थालेका थिए ।
पशु सेवा कार्यालय चरिकोटका प्रमुख डा. ज्ञानबहादुर जिरेल पशु सेवा कार्यालयमा उपचारको लागि ल्याइएको केही कुकुरहरूमा क्यानाईन डिस्टेम्पर भाइरस भेटिएकोले त्यसैको कारण कुकुरहरू मरेको हुनसक्ने बताउँछन् ।
दोलखामा धेरै वर्ष अघि कुकुरमा क्यानाईन डिस्टेम्पर भाइरस देखिए पनि अहिले त्यस्तो अवस्था नभएकोमा बन्ध्याकरणको क्रममा कतैबाट भाइरस सरेको हुुनसक्ने डा. जिरेल बताउँछन् । यदि त्यस्तो अवस्था नभए कतैबाट भाइरस सरेपछि बन्ध्याकरणको कारण कमजोर भएको, उमेर पुगेको वा रोगी कुकुरहरू धेर मरेको हुनसक्ने डा. जिरेल बताउँछन् ।
भीमेश्वर नगरपालिकाका नायव पशुसेवा प्राविधिक शङ्कर पाठक भने बन्ध्याकरणको बेलामा पूर्ण रुपमा सुरक्षा विधि अपनाइएकोले त्यो बेला भाइरस सर्ने सम्भावना नरहेको बताउँछन् । नगरपालिकाले बन्ध्याकरण गर्ने समयमै केही कुकुर बिरामी भेटिएकोले भाइरस पहिलेनै कतैबाट भित्रिएको हुनसक्ने पाठकको भनाई छ ।
नगरपालिकाका नायव पशुसेवा प्राविधिक पाठक भाइरस सर्न नदिन घरपालुवा कुकुरलाई छाडा नछोड्ने तथा भाइरस विरुद्धको खोप लगाउनु बताउँछन् । सडकमा भेटिएका बिरामी कुकुरको उपचारको लागि नगरपालिकाले व्यवस्था गर्ने पाठकको भनाई छ ।