मधेश प्रदेश सरकारको विकल्पमा ओली र देउवा सकारात्मक

सत्तारुढ दलहरुको संयुक्त बैठकमा मधेश प्रदेश सरकारबारे चर्चा चुलिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकलगायतकामा गरेको विभिन्न स्टेटससहितको पोस्ट र सोका पार्टीका नेताहरूको अभिव्यक्तिलाई लिएर सो बैठकमा निकै चर्चा चलेको छ ।

सत्ता सहयात्री दलहरुले मधेश प्रदेश सरकारको कामकारबाहीदेखि जनमतका अध्यक्षसहितको बोलीलाई लिएर सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले निकै महत्वका साथ सुनेको बताइन्छ । पछिल्लो समय मधेश प्रदेश सरकारको काम कारबाहीप्रति सत्ता साझेदार दलका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । जसले गर्दा प्रदेश सरकार संकटमा परेको हो कि भन्ने चर्चा पनि सो बैठकमा भएको छ ।

जनमत पार्टीले एक्लौटीढंगले विना कुनै छलफल र योजनाकै जथाभावी व्यक्तिलाई राजनीतिक नियुक्तिदेखि बजेट कटौतीसम्ममा बेवास्ता गर्दा सत्ता सहयात्री दलहरु विच्किएका छन् । मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सरकार संचालनमा नेपाली कांग्रेस, लोसपा नेपाल र नेकपा एमालेलाई समेत बेवास्ता गर्दै विभिन्न आयोग तथा समितिमा राजनीतिक नियुक्ति गर्दा, कर्मचारी समायोजन तथा नियुक्ति गर्दा, बजेट विनियोजनलगायतका महत्वपूर्ण कामकाजमा सत्तारुढ दलका मन्त्रीहरुलाई समेत बेवास्ता गरी एक्लौटी ढंगले क्रियाकलपा गर्दा पटकपटक असन्तुष्टि जनाउँदै आएको छ ।

यहाँसम्म कि जनमत पार्टीले अन्य दलको मन्त्रालयमा पनि हस्तक्षेप गरेको कारण सोको गुनासो केन्द्रसम्म आइपुगेको बैठकमा सहभागी एक नेताले बताए । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष राउतले दिएको अभिव्यक्तिलाई लिएर पनि मधेश प्रदेश सरकारको समीक्षा भएको उनले बताए । तर जनमत पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्वमन्त्री ई. बसन्त कुशवाहाले मधेश प्रदेश सरकार परिवर्तनको हल्ला फिँजाएर सरकार, कर्मचारी र मधेशी जनतालाई भ्रमित गर्न खोजिएको आरोप लगाउँदै भ्रममा नपर्न आग्रह गरे ।

मधेश प्रदेश सरकारले ल्याएको ७५ भन्दा बढी गौरवका योजनाहरू कार्यान्वयन हुने समयमा मधेश विरोधीहरूले बाधा अवरोध पु¥याउने काम गरेको भन्दै उनले जनमत पार्टी नेतृत्वको मधेश सरकार पूरै अवधि रहने दाबी गरे । सो बैठकमा जनमत पार्टीका अध्यक्ष डा. राउत सहभागी भएको एक फोटोसमेत सार्वजनिक गर्दै उपाध्यक्ष ई. कुशवाहाले अध्यक्ष सीके राउतको सहभागिताका साथ बुधबारपनि सत्तारूढ दलको बैठक सम्पन्न भएकाले जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकारमा निरन्तरता रही रहने दाबी गर्दै यसमा कुनै भ्रम नराख्न स्पष्ट पारे ।

बैठकमा सहभागी एक नेताले पछिल्लो समय जनमत पार्टीका अध्यक्ष राउतले ओली सरकारकै विरुद्धमा दिएको अभिव्यक्तिबारे बालुवाटारमा चर्चा भएको थियो । संसद् होस् वा सार्वजनिक मञ्चबाट पनि अध्यक्ष राउतले संघीय सरकारलाई अहित हुने खालको अभिव्यक्ति दिँदै आएका छन् । जसले गर्दा मधेश प्रदेश सरकारको विकल्पबारे सोच्न प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएको बताइन्छ ।

मधेश प्रदेश सरकारमा जनमत पार्टीले नेतृत्व गरिरहँदा पार्टीको क्रियाकलाप तथा गतिविधिप्रति नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै पार्टी छाड्न थालेपछि उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख ई. दीपक साहले पार्टी नछाड्न अपिल गरेका छन् । कांग्रेस र एमालेले आ–आफ्ना शीर्षनेतृत्वलाई मधेश प्रदेश सरकारको विकल्पबारे दाबी गर्दै आए पनि प्रदेश सरकारको नेतृत्वका लागि दुबै दलबीच हानथाप हुँदा परिवर्तनका मार्ग प्रशस्त हुन नसक्दा जनमत पार्टी नेतृत्वको सरकारले निरन्तरता पाएको एक प्रदेश सांसदले बताए ।

केही महिना अघि वीरगञ्जमा कांग्रेस सभापति देउवा समक्ष मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस मधेश प्रदेका संसदीय दलको टोलीले मधेश सरकार परिवर्तनका लागि दबाब दिएका थिए । भने अर्कोतर्फ प्रधानमन्त्री ओलीलाई एमाले मधेश प्रदेश संसदीय दलको टोलीले मुख्यमन्त्रीमा दाबी गर्दै गम्भीर छलफल गरेको थियो ।

The post मधेश प्रदेश सरकारको विकल्पमा ओली र देउवा सकारात्मक appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/24/100203/