माया भए सबथोक हुँदो रहेछ


बिदाको दिन थियो । केशव भन्ने मेरो साथीको फोन आयो । म उनको घरमा गएँ । उनको झकिझकाउ सिँगारेको बैठक कोठामा एकजना अर्का साथी सन्तोष पनि उनीसँग बसी गफगाफ, भलाकुसारी गर्दै गरेका थिए । केशवकी श्रीमतीले मज्जाको चिया–नास्ता बनाएर ल्याइदिइन् । त्यतिकैमा सन्तोषले केशवलाई सोधे, ‘केशव ! म एउटा कुरा सोधुँ है।’

केशवले हुन्छ भने । सन्तोष भन्छन्, ‘भाउजू भवानी र तिम्रो कहिल्यै ठाकठुकसम्म पनि हुँदैनजस्तो लाग्छ । किनकि जति बेला म आउँदा पनि भाउजूको अनुहार सधैँ हँसिलो र उज्यालो देख्छु ।’ सन्तोषको कुरा सुनेर केशव अलि खुशी भएको जस्तो गरी बोल्न थाले, ‘अहिलेसम्म त हाम्रो ठाकठुक भएको छैन । पछिसम्म पनि नहोस् भन्न चाहन्छु।’

सन्तोषले भने, ‘खैर तिमी त भाग्यमानी नै रहेछौ । घर पनि दरबारजस्तै बनएका छौ । अर्को एउटा कुरा, स्वास्नी चिन्ने कति बेला ? लोग्नेलाई दुःख–संकट पर्दा रे ! लोग्ने चिन्ने कति बेला ? स्वास्नी बिरामी पर्दा रे ! भन्छन् । यो कुरामा कत्तिको सत्यता छ जस्तो लाग्छ केशव ?’

यति बेला केशवकी श्रीमती पनि यी कुरा बहुतै दिलचस्पीका साथ सुन्दै थिइन् । केशव बोल्न थाले, ‘मेरी भवानीले मलाई यतिसम्म संकट टारिदिएको छ कि त्यसको बयान गरेर साध्य छैन, साथी ! हाम्रो यो घरको निर्माण कार्य सिध्याउन अलि रकम नपुगेको कारण घर बन्धकीमा परेको थियो । आफ्नो भएभरको गरगहना र जेठानसित समेत हारगुहार गरी रुपियाँ ल्याएर बन्धकीमा परेको घरलाई त्यसको साउँ–ब्याज चुक्ता गरी बन्धकी फुकाएको र केही महिनापछि नै घरको बहालबाट जेठानको साहु तिरेको नि ! हाल हामी दुईजना मिलेर तल एउटा सटरमा किराना पसल थापी सानो व्यवसाय आर्जन गर्दै आएका छौँ । तल्लो तला भाडामा दिएको छु । खान, लगाउन फिक्री नपर्ने गरी हामी यो अवस्थामा पुगेका छौँ । यसपालि पुरानो कार बेचेर नयाँ कार किनेको छु । यो सब मेरी श्रीमती भवानीको करामत हो सन्तोष ।’

भाउजू भवानी चिया–नास्ता ख्वाउँदै व्यस्त अनि मचाहिँ चिया पिउँदै उनीहरुको कुरा सुन्दै थिएँ । सन्तोष फेरि केशवसँग बोल्न थाले, ‘यो त भाउजूको तिमी उपरको सघाउ र प्रेमको कुरा भो । अब भाउजू उपरको तिम्रो केही मायाप्रेमको कुरा पनि त सुनाऊ न ।’

‘यो कुरा मैले बताउनुभन्दा भवानीसँगै सोध्नु राम्रो नि ! बरु सन्तोष ! तिमीले पनि तिम्रो कुरा केही बताउने होइन ?’ केशवको कुरा सुनेर सन्तोष पुनः बोल्न थाले, ‘मेरो नाम नै सन्तोष मैले सुनेको पनि छु, आफूसित जे–जति छ त्यसैमा सन्तुष्ट हुन सकेमा त्यो जतिको सुखी जीवन अरु केही हुन सक्दैन । असन्तोषी सदा दुःखी । भगवानले मैले चाहेको जस्तो मलाई आदर गर्ने श्रीमती जुराइदिएका छन् । मैले पनि उनलाई उनले चाहेको भन्दा बढी प्रेम दिएको छु । हाम्रो युगल जीवन सन्तोषजनक छ केशव ! धन भनेको कसरी आर्जन गर्न सकिन्छ भन्ने ज्ञान तिम्रो प्रेम कहानीबाट हासिल गरिसकेँ । तिमी त हाम्रो लागि प्रेरणादायक ! साँचो साथी पाउनु पनि त धन नै होइन र ?’

सन्तोषको यति कुरा सुनेपछि केशव बोल्न थाले, ‘तिमीजस्तो मेरो शुभेच्छुक साथी मैले पाएको छु। तिम्रो जिज्ञासाको कुरा लिएर भवानीको अगाडि नै बोल्न चाहेँ, उनी बिरामी पर्दा उनको स्याहारसुसार गरेको कुरा मैले बोल्नुभन्दा भवानीको मुखबाट सुनाउन पाएको भए राम्रो हुन्थो। उनलाई त्यति बेला स्याहारसुसार गर्नु त मेरो दायित्व नै थियो ।

जसरी हुन्छ उनलाई उनको स्वास्थ्य लाभ गराउनु थियो । उनको पूर्ण स्वास्थ्य लाभ हुन ६ महिनाभन्दा बढी लागेको थियो । हाम्रो माया गहिरो छ सन्तोष !’ यो कुरा सुनेपछि नजिकै बसेकी भाउजू भवानी जुरुक्क उठेर लोग्ने केशवलाई ढोगिन् अनि भन्न थालिन्, ‘मेरो जीवन, मेरो प्राण नै मेरो श्रीमान् केशव हो ।’ यो कुरा सुनेर केशव आँखाबाट खुशीको आँसु झार्दै भवानीको हात समातेर बोल्न थाले, ‘तिमीजस्ती श्रीमती पाउनु मेरो अहोभाग्य भवानी ! हाम्रो यो प्रेम अटल रहोस् ।’

सन्तोष र म दुवैलै ताली बजाउँदै केशव र भवानीको युगल जोडीलाई बधाई एवं शुभकामना दियौँ अनि बिदावारी भयौँ । घर पुगेपछि उनीहरुको यो प्रेम कहानी मेरी जीवन संगिनीलाई वृत्तान्त सुनाउने निधो गरी म सरासर घर फर्कें । उनीहरुको यो प्रेम कहानी हरेक युगल जोडीको लागि अनुकरणीय छैन त हजुर !
(सत्य घटनामा आधारित)

Source : https://newsofnepal.com/2024/10/23/674773/