युद्धविरामको घोषणासँगै नेपाली केयरगिभरलाई लैजाने तयारीमा इजरायल

काठमाडौं– इजरायलले हिजबुल्लाह समूहसँग युद्धविरामको घोषणा गरेसँगै नेपाली ‘केयरगिभर’ लैजाने भएको छ । इजरायलका लागि छनौट भएका दुई हजारभन्दा बढी कामदारहरुलाई अब इजरायल लैजाने भएको हो ।

यसका लागि इजरायली राजदूत शुमलिक एरी बासले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । हाल इजरायलमा युद्धविराम समेत घोषणा भइसकेको हुँदा केयरगिभरका रूपमा छनोट भएका नेपाली कामदारलाई अब इजरायल लैजाने उनले बताएका हुन् ।

उनले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएकोसमेत बताएका छन् । उत्तीर्ण भएका सबै नेपाली कामदारहरूलाई क्रमशः लैजाने जानकारी गराए । उनले नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमा समेत लैजान सकिने भेटवार्ताका क्रममा बताएका छन् ।

इजरायलमा कामदारको लागि राम्रै सेवा सुविधा दिइएको छ । यसअघि इजरायलमा चलिरहेको युद्धका कारण सुरक्षाको दृष्टिकोणले कामदारलाई पठाउने प्रकृया रोकिएको थियो । मंगलबार इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने र इजरायलले ६० दिनभित्र आफ्ना सेना फिर्ता ल्यानेगरि युद्धविरामको सहमति भएको हो ।

Source : https://onlinetvnepal.com/2024/11/186930/