रविविरुद्ध रुपन्देहीमा पनि पक्राउ पूर्जी जारी, रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने

फाइल तस्बिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागेको हो ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

लामिछाने पक्राउ परेदेखि नै पोखरामा रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ । रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको हो । तर पोखरामा रास्वपाले अपेक्षा गरेजति जनताको साथ नपाएपछि अब काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।

यसैक्रममा लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पहराईको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्न अनुमति दिएको हो।

अदालतले छविलाल जोशी, रवि लामिछाने, दीपक लामा, अनन्त बाबु राई, श्री बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछानेसहित १२ जनाविरुद्ध गत असोज ५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तासमेत रहेका पहराईले पूरक जाहेरी दिएका थिए ।

सहकारी संस्थाको बचत रकम यी विपक्षीहरु शेयर सदस्य सञ्चालक समितिका पदाधिकारी र बैंकिङ कारोबारमा आधिकारिक हस्ताक्षरकर्ताहरु भएको मिसिल संलग्न कागजातबाट देखिएको पक्राउ आदेशमा उल्लेख छ।

 

Source : https://onlinetvnepal.com/2024/10/185217/