लफडा तिलकोत्सवको

‘कही नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखानलाई चरिचार्थ गर्दै विश्व हिन्दू परिषद् को नेतृत्वमा सीता जन्मभूमि जनकपुरधामबाट गएका एक समूह राम जन्मभूमि अयोध्या पुगेर भगवान रामलाई तिलक चढाएका छन् । मंसिर २१ गते जनकपुरधाममा आयोजित हुने रामजानकी विवाह महोत्सवमा जन्तीको रुपमा सहभागी हुन त्यहाँका साधुसन्तलाई निम्तो दिएका छन् ।

धार्मिक पर्यटन संस्थागत हुँदै गएको वर्तमान समयमा धार्मिक–सांस्कृतिक आयोजनहरुलाई अझ भव्य बनाउन, पर्यटकहरुलाई आकर्षित गर्न यस्ता आयोजनहरु आवश्यक हो । यसलाई अन्यथा मान्न हुदैन, तर यस आयोजनले जनकपुरधाममा ठूलै हल्लाखल्ला मचेको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव ‘एउटै बेहुलालाई दुई पटक तिलक चढ्दैन’ भन्दै रामजानकी विवाह महोत्सवको क्रममा पारम्परिक रुपले राम मन्दिर प्रांगणमा हुँदै आएको तिलकोत्सव नहुने उद्घोष गरेपछि तिलकोत्सव प्रसंग विवादको रुप लिएको छ ।

मिथिला भूगोल मात्र नभई सभ्यता पनि हो । कुनै पनि सभ्यताको आफ्नै जीवन शैली हुन्छ । भाषा–संस्कृति हुन्छ । भोजन विन्यास हुन्छ । भेष–भूषा अनि जन्मदेखि मृत्यु पर्यन्तको मौलिक विधि–व्यवहार हुन्छन् । अझ वैवाहिक पद्धतिको कोणले भन्ने हो भने जानकी मन्दिरमा हुने रामजानकी विवाह महोत्सव मिथिला संस्कृतिको प्रतिनिधित्व गर्दछ ।

जसको आधार मिथिलाञ्चलमा व्याप्त मिथकहरु हुन् । रामचरित मानस जस्ता धार्मिक ग्रन्थहरु हुन् । अतः आजको यस आलेखमा रामजानकी विवाहको प्रसंगमा वाल्मिकी रामायण, रामचरित मानस, मिथिलाभाषा रामायण तथा लाल दास लिखित रामेश्वर चरित रामायणमा वर्णित केही तथ्य प्रस्तुत गर्न चाहन्छु । हामी सबैलाई थाहा छ, विश्वामित्रसंग राम र लक्ष्मण मिथिला आएका थिए ।

राजा जनकको आग्रहमा विश्वामित्र शिव धनुषदर्शन गर्न रंगभूमि आएका थिए । अनि गुरु आज्ञाले रामशिव धनुष उठाउँदा धनुष दुई खण्डमा विभाजित भएको थियो । एक दिन अघि गिरिजा पूजन गर्न गएकी सीतासंग रामको भेट फूलवारीमा भएको थियो । राम त्यतिबेलादेखि नै मनमनै सीतालाई स्वीकार गरि सकेका थिए । गोस्वामी तुलसी दास धनुष उठाउने बेला रामको मनभित्र चल्दै गरेको आरोह– अवरोहलाई सुन्दर शब्द दिएका छन्–

का वरषा सब कृषि सुखाने । समय चुकें
पुनिका पछिताने ।।
अस जियँजानिजानकी देखी । प्रभु पुलके
लखिप्रीति बिसेषी ।।
गुरहि प्रनामु मनहि मन कीन्हा । अति लाघवँ
उठाइ धनु लिन्हा ।।
दमकेउ दामिनिजिमि जब लयऊ । पुनिनभधनु
मंडल सम भयऊ ।।
लेत चढावत खैंचत गाढे । काहु न लखा देखि
सब ठाढे ।।
तेहि छन् राममध्यधनु तोडा । भरे भुवनधूनि
घोर कठोरा ।।
रामचरित मानसमा वर्णन भएअनुसार– धनुष भंगसंगै परशुरामको आगमन हुन्छ । परशुराम र लक्ष्मण बीचको संवाद रामचरित मानसको महत्वपूर्ण भाग हो । आफ्ना गुरु शिवले दिएको धनुष भाँच्नेलाई दण्ड दिने उद्घोष गर्दै परशुराम भन्नु हुन्छ–
अति रिस बोले बचन कठोरा । कहु जड
जनकधनुष केँतोरा ।।
बेगि देखाउ मूढ न त आजु । उलटहुँ महि
जहँलहितव राजू ।।
अन्तमा राम परषुरामसंग क्षमा माग्छन् र
भन्छन् –
नाथ संभुधनु भंजनहारा । होइहि केउ एक
दास तुम्हारा ।।
जब परशुरामलाई धनुष भंग गर्ने साक्षात
विष्णु भएको ज्ञात हुन्छ, तब परशुराम भन्नु
हुन्छ–
कहमुनि सुनु नरनाथप्रवीना । रहाविवाहु
चापअधिना ।।
टूटतहि धनु भयउबिबाहु । सुर नर नागविदित
सबकाहू ।।
तदपिजाइतुम्ह करहुअब,यथावंशव्यावहार ।
बूझिविप्र कुलवृद्ध गुर, वेद विदितआचार ।।
अर्थात् धनुष भंग हुने बित्तिकै राम र सीताको विवाह सम्पन्न भयो । यद्यपि हे जनक, तिमी आफ्नो वंश व्यावहार अनुसार राम सीताको विवाह गर । अनि आफ्नो वंश व्यावहार अनुसार जनक वैवाहिक कार्यक्रम आयोजन गर्छन् । भाई कुशध्वजलाई बोलाउँछन् । दशरथलाई निम्तो दिनदूतलाई अयोध्या पठाउँछन् । गोस्वामी तुलसी दासले यस प्रसंगलाई पनि सुन्दर शब्दले श्रृंगारेका छन्–
दूतअवधपुर पठबहु जाई । आनहि नृप दशरथ
बोलाई ।।
मुदित राउकहि भलेंहि कृपाला । पढए
दूतिबोलि तेहि काला ।।
पहुंचे दूत रामपुर पावन । हरषे नगर बिलोकि
सुहावन ।।
भूपद्वार तिन्हखबरि जनाई । दसरथ नृप
सुनिलिएबोलाई ।।
करि प्रनामु तिन्हपातीदीन्ही । मुदितमहिपआपु
उठि लिन्ही ।।
दूतमार्फत मिथिला नरेश जनकले पठाएको पत्र अयोध्या नरेश दशरथ स्वयं उठेर ग्रहण गरेका थिए । अर्थात् मिथिलाका दूतले पनि ठुलै सम्मान पाएका थिए । वाल्मिकी रामायणमा वर्णन भए अनुसार– राजा जनकको आज्ञा पाएर मन्त्री सुमन्तर अन्यदूतहरु अयोध्या प्रस्थान गरेका थिए । उनीहरु बाटोमा तीन राति विश्राम गरेर चौथो दिन अयोध्या पुगेर दशरथलाई विवाहको निम्तो दिएका थिए ।

पाँचौ दिन बेहुला विनाको जन्ती अयोध्याबाट जनकपुरधाम प्रस्थान गरेको थियो । यस प्रकार धनुषयज्ञ सम्पन्न भएको ११ औँ १२ औँ दिन रामजानकीको विवाह भएको थियो । जनकपुरधामबाट अयोध्याको दुरी लगभग ५ सय किलोमिटर छ । घोडामा सवार भएका मिथिलाका दूतलाई अयोध्या पुग्न चार दिन लाग्नु स्वाभाविक देखिन्छ ।

यी धार्मिक ग्रन्थहरुको आलोकमा मेरो मनमा केही स्वाभाविक जिज्ञासाहरु उठेका छन्– १ तिलक बेहुला वा बेहुलीलाई चढाइने वैवाहिक उपक्रम हो । राम लक्षमण जनकपुरधाममै भएको बेला तिलक लिएर अयोध्या जानुको तात्पर्य के होला ? २ अयोध्या नरेश जनकले दूतमार्फत पठाएको निम्तो चक्रवर्ती सम्राट दशरथ स्वयं उठेर ग्रहण गरेका थिए । तर अयोध्यामा सम्पन्न तिलकोत्सवको दृश्यमा मधेशका मुख्यमन्त्री सतीशकुमार सिंह र अयोध्याका मेयर गिरीशमणि त्रिपाठी समानान्तर बसेको देखिनु हुन्छ ।

मञ्चमा जनकपुरधामका मेयर मनोज कुमार साह पनि देखिनु हुन्छ । मुख्यमन्त्रीजी स्वयं अभिभावक भएर जनकपुरधाम र अयोध्याधामका मेयरले तिलकोत्सव सम्पन्न गराउँदा कति राम्रो देखिन्थ्यिो ? हाम्रा मुख्यमन्त्रीजी अयोध्याका मेयरसंग तिलकोत्सव गर्दा रामायणकालीन जनकपुरधामको गरिमा कता गयो ? ३ विश्व हिन्दू परिषद् धार्मिक–सांस्कृतिक संगठन हो र प्रदेश राजनीतिक । नेपालकै भए पनि मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई उत्तर प्रदेश सरकारले निम्तो दिनु पर्ने हो कि होइन ?

अयोध्यामा सम्पन्न तिलकोत्सवले जनमानसमा अनेकौँ जिज्ञासा जन्माएका छन् । तीमध्ये केही सकारात्मक र केही नकारात्मक छन् । हामीले इतिहाससंग सिख लिनु पर्दछ । अनि भविष्यको योजना बनाउनु पर्दछ । तर यति भनि रहँदा रामजानकी विवाह महोत्सवको प्रमुख आयोजन मानिने राम मन्दिर प्रांगणमा आयोजन हुने तिलकोत्सवको आयोजन कुनै पनि निहँुमा रोकिनु हुन्न । कारण तुलसी दासले लेख्नु भएको छ–
तदपिजाइतुम्ह करहु अब,यथावंशव्यावहार ।
बुझिविप्र कुलवृद्ध गुर, वेद विदितआचार ।।
जय जानकी

The post लफडा तिलकोत्सवको appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/11/23/101492/