लमजुङका २१ हजार पशुमा पूर्ण खोप

लमजुङ । लमजुङमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरेको छ । दुई चरणमा सञ्चालन गरिएको सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा झण्डै २१ हजार पशुमा खोरेत विरुद्धको खोप लगाइएको छ ।

गत असोज २ गतेबाट सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा २० हजार ८ सय ४३ पशुहरुलाई खोप लगाइएको भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । जिल्ला स्थित आठ वटै स्थानीय तहमा पालिएका घरपालुवा पशुहरुमा खोरेत विरुद्धको खोप लगाएको सो केन्द्रका प्रमुख डा.सुनिल न्यौपानेले बताए ।

उनका अनुसार पहिलो चरणको खोरेत विरुद्धको खोप १९ हजार ९ सय ५५ गाईभैंसी र ८ सय ८८ वटा बुगुरहरूलाई खोप लगाइएको छ । उनले भने, ‘स्थानीय तहमा सबैभन्दा धेरै बेसीशहर नगरपालिका र सबैभन्दा कम क्व्होलासोथर गाउँपालिकामा खोप लगाइएको छ ।’

भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले उपलब्ध गराएको तथ्यांक अनुसार बेसीशहर नगरपालिकाका ३ हजार ८८६ गाइभैंसी र २४५ वंगुरमा खोप लगाइएको छ भने क्व्होलासोथरगाउँपालिकाका ९१७ गाईभैंसी र ३० वटा वंगुरलाई खोप लगाउने काम भएको छ ।

यसैगरी, सुन्दरबजार नगरपालिकामा ३ हजार २४५ गाइभैंसी, १९६ बंगुर, राइनास नगरपालिकामा ३ हजार ७५३ गाईभैंसी, ९४ वंगुर, मध्यनेपाल नगरपालिकामा ३ हजार ३५० गाईभैंसी र १८८ वंगुरमा खोरेत विरुद्धको खोप लगाइएको हो । गाउँपालिकातर्फ मस्र्याङ्दीमा २ हजार ५४ गाइभैंसी, २४ वंगुर, दोर्दीका १ हजार ७७७ गाइभैंसी र ८७ बंगुर, दुधपोखरीका ९ सय ७३ गाइभैसी र २४ वंगुरमा खोप लगाउने काम भएको भेटेरिनरी अस्पतालले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

उक्त कार्यक्रम अन्तर्गत मस्र्याङ्दी, दोर्दी, क्व्होलासोँथार र दुधपोखरीमा भेडीगोठ भएका वडा बाहेक सबै वडाहरूमा पालिएका गाई भैंसी र बंगुरमा खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. न्यौपानेले जानकारी दिए । उनका अनुसार सो प्रयोजनका लागि कार्यालयले खोप कर्ता छनौट गरी खोप अभियान सञ्चालन गरेको हो । उनले भने, ‘दुर्गम क्षेत्रमा रहेका क्व्होलासोथर गाउँपालिकाको ५ नं वडा, दोर्दीको ४ नंवडा, तथा दुधपोखरी र मस्र्याङ्दी गाउँपालिकाको ३÷३ वटा वडामा खोप लगाउन बाँकी रहेको छ ।’

प्रत्येक ६–६ महिनामा गाई भैंसी र बंगुरमा खोरेत रोग विरुद्धको खोप लगाउनुपर्ने डा.न्यौपानेले जानकारी दिए । उनका अनुसार आगामी माघदेखि दोश्रो चरणमा कार्यक्रम सञ्चालन गरीने कार्यक्रम छ । उनले भने, ‘जिल्लामा पूर्ण खोप कार्यक्रम गत आर्थिक वर्षबाट सुरु भएको हो ।’ गत वर्षझैं चालु आर्थिक वर्षमा पनि जिल्लाका सबै स्थानीय तहहरूमा कार्यक्रम सञ्चालनको तयारी रहेको छ । यो कार्यक्रम गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको हो । पहिलो वर्ष मध्यनेपाल नगरपालिका र बेसीशहर नगरपालिकामा कार्यक्रम सञ्चालन भएको थियो । दोश्रो बर्ष थप सुन्दरवजार नगरपालिकामा थप भएको थियो ।

तेस्रो वर्ष वर्षमा जिल्लाका पाँचवटा स्थानीय तहमा पशु पुर्ण खोप कार्यक्रम सञ्चालन भएको थियो । जिल्लामा खोप कार्यक्रम सञ्चालन भएको यो पाँचौ वर्ष हो भने गत आर्थिक वर्षबाट ‘जिल्ला पुर्णखोप कार्यक्रम सञ्चालन भएको’ हो । पशुमा पुर्णखोप कार्यक्रमको उक्त अभियान यो वर्ष पनि निरन्तर हुने भएको छ ।

कार्यक्रम अन्तर्गत जिल्लाका व्यवसायिक फार्महरुमा गाईभैंसी, भेडाबाख्रा, बंगुर, कुकुर र विरालोलाई समेत आवश्यक विभिन्न प्रकारका खोप लगाउने गरिएको कार्यालयका प्रमुख डा. न्यौपानेले भने । उनका अनुसार गाई भैसीमा खोरेत, चरचरे, भ्यागुते रोग विरुद्धको खोप, बंगुरमा खोरेत तथा क्लासिकल स्वाईन फिभर विरुद्धको खोप, भेडा बाख्रामा पिपिआर र कुकुर विरालोमा रेविज विरुद्धको खोप लगाईने गरिएको छ ।

The post लमजुङका २१ हजार पशुमा पूर्ण खोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102570/