संसारकै प्रदुषित सहरमध्ये सातौँ स्थानमा काठमाडौं
काठमाडौं– विश्वको प्रदूषित सहरको सूचीमा आज काठमाडौं सातौँ स्थानमा देखिएको छ ।युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) का अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको हो।
बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा देखिएको हो । यस समयमा काठमाडौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई देखिएको छ ।
स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने विभागले जनाएको छ । यस्तै, सो सूचकाङ्क १५१–२०० पुगेमा अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ ।
यस्तै सोही समयमा विश्वकै प्रदुषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर देखिएको छ । त्यहाँ वायु प्रदूषणको मात्रा ४७७ आईक्यूआई देखिएको छ । यस्तै, दोस्रोमा भारतको दिल्लीको प्रदुषण मात्रा ४३७ आईक्यूआई देखिएको छ । यस्तै, इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची लगायत सहरमा बढी वायु प्रदूषण देखिएको छ ।
वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ ।ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन विभागले आग्रह गरेको हो ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन समेत विभागको आग्रह छ ।