सामाजिक सुरक्षा कोषले श्रमिकका छोराछोरीको पनि उपचार खर्च व्यहोर्ने ! 

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान-श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । मंगलवार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा जानकारी गराएका हुन् । 

उनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान-श्रीमति र १८ वर्ष ननाघेका उनीहरुका छोराछोरीहरुका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिएका छन् । 

कोषमा सोमबारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएको जानकारी गराउँदै आवद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको अधिकारीले बताएका छन् । उनले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताएका छन् । 

त्यस्तै, अधिकारीले कोष कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रिय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिएका छन् । यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चि गर्ने उनको भनाई छ ।

कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको अधिकारीले जानकारी दिएका छन् । उनले कोषका सम्पूर्ण सेवाहरुलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि बताएका छन् ।

Source : https://arthasarokar.com/2024/11/the-social-security-fund-will-cover-the-medical-expenses-of-workers-children.html



Related Posts