सिक्टामा पैसा बग्यो, पानी बगेन
बाँके ।
बाँकेको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ। गौरवको आयोजना भए पनि २० वर्षदेखि कछुवाको गतिमा काम भइरहेको छ। आयोजनाको लागत भने बढेको बढ्यै छ। सिक्टामा पैसा बगिरहँदा किसानको खेतमा पानी बग्न सकेको छैन।
आर्थिक वर्ष २०६१/६२ मा गौरवको आयोजना सिक्टा सिँचाइको काम सुरुआत भएको हो। यसको सुरुआती लागत १२ अर्ब ८० करोड थियो । समयमा काम सम्पन्न नहुँदा पटक–पटक गुरुयोजना संशोधन गर्दै ५२ अर्ब ८९ करोड लागत पुर्याइएको छ। आर्थिक वर्ष ८९/९० सम्पन्न गर्ने पछिल्लो गुरुयोजना रहेको छ।
बाँके जिल्लाको ४२ हजार ७ सय ६६ हेक्टर जमिनलाई सिँचाइ गर्ने गरी सिक्टाको परिकल्पना गरिएको छ। पूर्वी र पश्चिमी गरी दुईवटा मूल नहर छन्। पश्चिमी नहर ४५.२५ किलोमिटर र पूर्वी नहर ५३.५ किलोमिटरको रहेको छ।
पश्चिमी नहरको शाखा, उपशाखा, प्रशाखाको करिब ६० प्रतिशत काम सकिएको छ । पूर्वी नहरमा धेरै काम बाँकी नै रहेको छ। पूर्वी नहरको नरैनापुर गाउँपालिकामा काम नै सुरुआत हुन सकेको छैन।
आयोजनाका निमित्त निर्देशक इन्जिनियर राजु आचार्यले आयोजनाको हालसम्म ३९.२२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो। यो भनेको २० हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा पुगेको अवस्था हो। सुरुआतीभन्दा ४० अर्ब बढी लागत बढ्दा अहिलेसम्म आयोजनामा २० अर्ब २४ करोड रुपियाँ खर्च भइसकेको छ।
सिक्टा आयोजना सम्पन्न हुन नसक्नुमा आयोजना प्रमुखको हुने छिटो सरुवालाई पनि लिइएको छ । आर्थिक वर्ष २०६१÷६२ देखि हालसम्म आयोजनामा १५ जना हाकिम परिवर्तन भइसकेका छन्। सिक्टाको काम सुरुआत गर्दा कृष्णराज तिमिल्सेना हाकिम थिए।
त्यसपछि सर्वदेवप्रसाद जयसवाल, दिलीपबहादुर कार्की, सरोजचन्द्र पण्डित, रमेश बस्नेत, महेश्वर नरसिंह केसी, रमेश बस्नेत, कृष्ण नेपाल, लोकबहादुर थापा, रामप्रसाद अर्याल, सन्तोष कैनी, रमेशकुमार सिंह, देवराज निरौला र गोपाल शर्मा परिवर्तन भइसकेका छन् । यीमध्ये केही हाकिमले मात्रै दुई वर्ष काम गर्न पाएका छन्। तीन महिना नपुग्दै हाकिम परिवर्तन भएका छन्।
आयोजनामा आएर कामकारबाही राम्ररी बुझ्न नपाउँदै सरुवा गरिदिने/हुने गरेको छ। स्रोतका अनुसार, पछिल्लो समयमा त सिक्टामा हाकिम आउनै मानेका छैनन्। एक दिनअघि मात्रै राजु आचार्य निमित्त हाकिम भएर आएका छन्।
जनशक्ति र ठेक्का व्यवस्थापन, निकुञ्ज क्षेत्रमा बाढी व्यवस्थापन र घुलनशील माटोको समस्या सिक्टाको प्रमुख समस्या र चुनौतीको रूपमा रहेको छ। सिक्टाको नहर आफ्नै खेत भएर जाँदा त्यही कारणले सिँचाइ गर्न पाएका छैनन्। अझै ९ हजार हेक्टर क्षेत्रमा काम नै हुन सकेको छैन।
वि.सं. २०३२/३३ सालदेखि सम्भाव्यता अध्ययन गर्दै २०६१/६२ देखि काम थालिए पनि दु्रतगतिमा काम नहुँदा यहाँका किसान निराश भएका छन्। बाँकेमा अहिले ३६ हजार ५ सय हेक्टरमा धानखेती हुन्छ। सिक्टा सिंचाई सम्पन्न भएर पानीको सुविधा हुँदा ४२ हजार हेक्टरबढीमा खेती हुन सक्छ।
यसैबीच, संसद्को पूर्वाधार विकास समितिले सिक्टाको अनुगमन निरीक्षण गरेको छ । ठाकुर गैरेको नेतृत्वमा आएको अनुगमन टोलीले सिक्टाको स्थलगत निरीक्षण गरेको छ। यस्तो निरीक्षण यसअघि २०७५ मा पूर्णाकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजक हुँदा भएको थियो। ६ वर्षपछि आएको संसदीय समितिले सिक्टाको काम छिटो हुन नसक्नुका कारण, समस्याका बारेमा बुझेर सरकारलाई प्रतिवेदन दिने जनाएको छ।
अनुगमन टोलीका संयोजक गैरेले गौरवको सिक्टा आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न के गर्न सकिन्छ भन्ने बुझ्नका लागि स्थलगत आएको बताउनुभयो। टोलीमा प्रतिमा गौतम र विना तामाङ रहेका छन्।
सिक्टाको स्थलगत निरीक्षणमा सांसद सूर्य ढकाल र दीपा शर्मा, प्रदेश सांसद बादशाह कुर्मी, सिक्टाका निमित्त निर्देशक इन्जिनियर राजु आचार्य, सिक्टाको काम छिटो सम्पन्न गर्नुपर्ने माग राख्दै आउनुभएका शालिकराम डाँगीलगायत रहेका थिए। अनुगमन टोलीका सदस्य गौतम र तामाङ, सांसदद्वय ढकाल र शर्माले गौरवको आयोजनालाई विशेष प्राथमिकतामा राखेर निश्चित समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो।