सुहाना पहिलोपल्ट घरबाहिरको फिल्ममा

काठमाडौं ।

नायिका सुहाना थापा पहिलोपल्ट घरबाहिरको फिल्ममा देखिने भएकी छन्। आफ्ना निर्माता पिता सुनीलकुमार थापा तथा निर्मात्री निर्देशक र अभिनेत्री माता झरना थापाले होम प्रोडक्सनबाट निर्माण गर्ने फिल्ममा मात्रै देखिँदै आएकी उनी पहिलोपटक बाहिरको फिल्ममा साइन गरेकी छन्।

सुहाना कथाकार गुरूप्रसाद मैनालीको कृति परालको आगोमा आधारित रहेर निर्माण हुने फिल्म परालको आगोमा अनुबन्धित भएकी हुन्।

फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार फिल्ममा अनुबन्धित गरेकी हुन्। मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ। परालको आँगो मैनालीको कथा संग्रह नासोमा संग्रृहित छ।

‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरा लागि सौभाग्य हो त्यही कारण मैले घरबाहिरको फिल्मका लागि पहिलोपटक साइन गरेकी हुँ,’ फिल्ममा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गर्दै भनेकी छन्। उनले दर्जनौं मल्टीस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट फिल्म दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र बुलाकीजस्तो दर्जनौं अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारसँग काम गर्न पाउनु अर्को खुशीको कुरा रहेको बताइन्।

निर्माता पोखरेलका अनुसार फिल्म २०८२ को दशैंमा रिलिज हुनेछ। परालको आँगोकै नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए।

Source : https://newsofnepal.com/2024/11/25/679894/