हरेक बालबालिका कलाकार बन्न सक्छन् –उपसभामुख राना
काठमाडौँ।
प्रतिनिधीसभका उपसभामुख इन्दिरा रानाले बालबालिकाहरुमा रहेको प्रतिभालाई प्रस्फुटन हुन दिदा हरेक बालबालिका कलाकार बन्न सक्ने धारणा राखेकी छन्।
विश्व बाल दिवसको उपलक्ष्यमा बालबालिका तथा युवा विद्यार्थीहरूलाई लक्षित गरी नेपाल आर्ट काउन्सिल बाबरमहलमा भएको कला प्रदर्शनीको बिहीबार अवलोकन गर्दै उपसभामुख रानाले हरेक बालबालिकाहरु कलाकार बन्न सक्ने वातावरण बनाउन आग्रह गरेकी हुन् ।
‘कलाप्रर्दशनीले साना बालबालिकाको जीवन्त कल्पनाशक्तिलाई कलाका मार्फतबाट प्रस्तुत गर्न सक्छन्।’ उपसभामुख रानाले भनिन्, ‘उचित वातावरण बनाउन सक्ने हो भने हरेक बालबालिका कलाकारको रुपमा उदाउन सक्छन्, हरेक अभिभावकले यसमा सचेत बन्नुपर्छ ।’
उनले बालबालिकाले कला मार्फत आफू भित्रको प्रतिभा मात्रै नभई कुण्ठा र आक्रोश पनि व्यक्त गर्न सक्ने भएकाले यसका लागि उचित वातावरण आवश्यक भएको कुरामा जोड दिएकी थिइन् । ‘बाल्यावस्थाको उचित वातावरण, स्याहार सम्मान, सहभागिताले भविष्यमा सोही बालबालिका क्षमतावान मानव स्रोत बन्दछन् । आफ्ना भावी सन्ततिको उज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिउन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बालअधिकारसम्बन्धी महासन्धि पनि पारित गरेको छ ।’ उनको भनाई थियो । बच्चा जन्मदा देखिनै उसलाई सिकाईने सबै खालका ज्ञानहरु बच्चाका लागि शिक्षा भएकाले कलाका माध्यमबाट बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रर्दशनीहरु सफल हुने बिश्वास उपसभामुख रानाको थियो ।
प्रदर्शनीमा ४ बर्ष देखि १४ बर्ष सम्मका बालबालिकाका लागि लक्षित गरेर तयार गरिएका चित्रहरु प्रदर्शनीमा राखिएको छ ।