१२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात
काठमाडौं । मुलुकमा खपत गरी अतिरिक्त विद्युत् भारतलाई बिक्री गर्दै विद्युत् निर्यात मुलुक बन्ने क्रममा नेपालले चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो ।
प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा मुलुकभित्र खपत गरी बढी भएको विद्युत् १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट भारततर्फ निर्यात गरी १२ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएकोे छ ।
प्राधिकरणले भारतका अलावा बंगलादेशलाई पनि विद्युत् निर्यात गर्न थालिसकेको छ । प्राधिकरणले गत शुक्रबार मात्रै बंगलादेशमा विद्युत् निर्यातको सुरुवात गरेको थियो ।
चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा रहेको प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
प्राधिकरणका अनुसार साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत् निर्यात गर्दै ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँ आम्दानी गरिएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसा थियो ।
भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युत्को औसत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा रहेको थियो ।
असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ८ रुपैयाँ शून्य ८ पैसा रहेको छ ।
यस्तै, कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट विद्युत् निर्यात गरिएको छ । सो महिनामा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ७ रुपैयाँ ८४ पैसा रहेको छ ।
प्राधिकरणले मुलुकभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए ।
‘सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पु¥याउँदा विद्युत् उत्पादन बन्द रहेको छ । त्यस्तै, अन्य साना आयोजनामा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन नसकेको जनाइएको छ । काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पु¥याउँदा सो लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द रहेका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुनपुगेको कार्यकारी निर्देशक घिसिङले बताए । यसबाट चालू आवमा राखिएको करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।
प्राधिकरणले माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको जनाएको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको स्पष्ट पारेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुने र उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने प्राधिकरणले जनाएको छ । हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्ने पनि प्राधिकरणले जनाएको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । सोही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
The post १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104141/