२४औँ शिखर सम्मेलन स्वास्थ्य मन्त्री पौडेलद्धारा उद्घाटन 

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सोमबारबाट काठमाडौंमा सुरु भएको फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) को २४औँ शिखर सम्मेलनको उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा बोल्दै मन्त्री पौडेलले अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन आग्रह गरे।

‘स्वास्थ्य क्षेत्रको भविष्यका लागि सोचेर अनुसन्धान कार्य गर्न प्रोत्साहित गर्न चाहन्छु’, मन्त्री पौडेलले भने, ‘ताकि हाम्रा कार्यले नयाँ पुस्तामा राम्रो प्रभाव परोस् ।’ स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानले उत्तरदायित्वसहित धेरैको भलाई हुने मन्त्री प्रदीप पौडेलको भनाइ छ।

उनले नेपालमा भएका अनुसन्धानले अन्तर्राष्ट्रिय मान्यता पाइरहेको र यसमा फरक्यापले पनि मान्यता दिएकाप्रति खुसी हुँदै कृतज्ञता व्यक्त गरे। 

यसले थप अनुसन्धानका लागि आत्मविश्वास दिएको मन्त्री पौडेलको भनाइ छ। उनले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको पनि बताए । ‘यस्तो सम्मेलन नेपालमा हुनु  राम्रो हो’, पौडेलले भने, ‘यस्तै सहकार्य हुँदै जाओस् । हामी त्यसका लागि सघाउन तयार छौँ।’

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अनुसन्धानकर्ता र सरकारबीच समन्वय हुनुपर्ने धारणा राखे। ‘समन्वयले अनुसन्धानको उपलब्धि र प्राप्त नतिजाले अझै राम्रो गर्न मद्दत गर्छ’ डा.पोखरलेले भने। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अनुसन्धान ज्ञान प्राप्त गर्ने कार्य मात्रै नभएर मानव जीवनलाई गर्ने आदर पनि भएको बताए। अनुसन्धान सकारात्मक परिवर्तनका लागि हुनुपर्ने उनको भनाइ छ। यस खालका सम्मेलनले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा केही न केही राम्रो गर्ने विश्वास उनले व्यक्त गरे। 

उत्तरदायी अनुसन्धानले समाजलाई फाइदा हुने उनले बताए। अनुसन्धान गर्दा कसैप्रति पूर्वाग्रही हुन नहुने र सीमान्तकृत समुदायलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने अधिकारीको सुझाव छ।  उनले फरक्यापले यस्ता अनुसन्धानमा जोड दिँदै जाने विश्वास व्यक्त गरे। ‘राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका हैसियतले मैले धेरै अनुसन्धानहरू निकै शक्तिशाली हुने देखेको छु’, अधिकारीले भने, ‘नैतिक भएर गरिएका अनुसन्धानले पक्कै समाज परिवर्तनमा टेवा पुग्नेछ।’ 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले नैतिक अनुसन्धानमा लाग्न अनुसन्धानकर्तालाई आग्रह गरे। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य अनुसन्धान क्षेत्रका आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे। उनले ९ गतेबाट सुरु भै १२ गते सम्पन्न हुने सम्मेलन निकै फलदायी हुनेमा विश्वास व्यक्त गरे। ‘नेपालमा फरक्यापको सम्मेलन गर्न पाउँदा गौरव लागेको छु, उनले भने, ‘यो सम्मेलन सबै सरोकारवालाका लागि फलदायी हुनेमा विश्वस्त छु।’

अनुसन्धानका नतिजाका आधारमा नेपालमा थुप्रै स्वास्थ्य उपलब्धि भएको जनस्वास्थ्यविद् प्रा.डा. शदरराज वन्तले बताए। नेपालमा मातृशिशु मृत्युदर घटाउनमा पनि अनुसन्धानले भूमिका खेलेको उनको भनाइ छ। यसमा असमानता कायम रहेको र त्यस्तो असमानता न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए।

नेपालमा यो सम्मेलन पहिलो हो। नेपाल सहित २३ वटा मुलुकको प्रत्यक्ष र भर्चुअल माध्यमबाट सम्मेलनमा सहभागी भएका छन्। ९० वटा भन्दा बढी कार्यपत्र उक्त सम्मेलनमा प्रस्तुत हुँदै छ।

Source : https://newsofnepal.com/2024/11/26/680048/