‘जागरण सभा’को फोहोरः एमालेले बुझ्न मानेन बालेनले पठाएको एक लाख जरिवानाको पत्र
काठमाडौं– शुक्रबार नेकपा एमालेले गरेको ‘जागरण सभा’मा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न एमालेले अस्वीकार गरेको छ ।
आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।
गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझि फिर्ता गरेको हो ।
एमालेले गरेको जागरण सभा नसकिँदै मेयर बालेन शाहले १ लाख जरिवाना तिराएको चिर्कटो सार्वजनिक गरेका थिए । तर, एमालेले भने फोहोर सफा गरिरहेको बेला जरिवानाको चिर्कटो थमाएको भन्दै आपत्ति जनाएको छ । एमालेले बालेन एमालेमाथि परिचालित भएको आरोप लगाउँदै जरिवाना नतिर्ने घोषणा गरिसकेको छ ।
फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।