विश्वकप लिग-२ : नेपाल आज क्यानडासँग खेल्दै 

काठमाडौं ।

नेपालले आईसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाको सामना गर्दै छ। यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ।

यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।

लिग- २ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अङ्क तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ। त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

Source : https://newsofnepal.com/2024/09/22/669175/