ओली न्युयोर्क प्रस्थान, प्रधानमन्त्री काम सिंहले सम्हाल्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघ मुख्यालयमा जारी महासभाका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी जिम्मेवारी तोकेका छन् । दैनिक प्रशासनिक काम नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्नेगरी तोकिएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी संलग्न छन् । नेपाली प्रतिनिधिमण्डल आगामी १४ असोजमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले यही १० असोजमा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी ८ असोजको महासभा साधारण बहस उद्घाटनसत्र र ९ असोजमा अमेरिकाका राष्ट्रपति जो बाइडेनद्वारा आयोजना गरिने स्वागत समारोहमा सहभागी हुनेछन् ।

न्युयोर्कमा रहँदा ओलीले अतिकम विकसित देशको ग्लोबल समन्वय ब्युरो (एलडीसी)को अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नेछन् । ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत ‘उच्चस्तरीय र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध’ विषयक उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोलम्बिया विश्वविद्यालयमा सोमबार आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै ११ असोजमा हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः संक्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ ।

The post ओली न्युयोर्क प्रस्थान, प्रधानमन्त्री काम सिंहले सम्हाल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101065/