समाजसेवी कप खरजङ गुरुङ दम्पतीद्वारा पाँच लाख रुपैयाँ दान

लमजुङ । समाजसेवी कप. खरजङ गुरुङले विभिन्न प्रयोजनका लागि करिब पाँच लाख रुपैयाँ दान गरेका छन् । लमजुङको सुन्दरबजार नगरपालिका– ९ भोटेओडार स्थित समुताँ गुम्वाको आयोजनामा गुम्बाकै संस्थापक अध्यक्ष समेत रहेका कप. खरजङ गुरुङ र उनकी धर्मपत्नी वर्तकाशी गुरुङले आफ्नो ८४ पुजा एवम् जन्म दिनको पूनित अवसरमा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी विभिन्न संस्थाहरूलाई चार लाख ९७ हजार २२० रुपैयाँ प्रदान गरेका हुन् ।

‘शाहाकारी भोजन खाऔं स्वास्थ्य बनौं’ भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले आफ्नो संक्षिप्त मन्तव्यमा शाकाहार जीवन उत्तम भएको बताएको बताए । उनले समाजसेवी दानवीर खरजङ गुरुङ जस्ता व्यक्तित्वको जति प्रशंसा गरे पनि पुग्दैन, उनको जीवनबाट मानव सेवाका कार्य ’boutमा हामीहरूले पनि सिक्नु पर्छ भने ।

सो अवसरमा दानवीर खरजङ गुरुङ सदम्पतीले स्थानीय भविष्य निर्माण माविका लागि छात्रवृत्तीको अक्षयकोषका लागि सो माविका प्रधानाध्यापक मायानाथ अधिकारी, सोही क्षेत्रको भारती सदन माविका प्रधानाध्यापक ज्ञानबहादुर कार्की एवम् विव्यसका अध्यक्ष दिलजङ गुरुङ तथा दूधपोखरी गाउँपालिकाको गौंडा स्थित ओखरी माविलाई खरजङ दम्पतीले ७५ हजार ५५५ रुपैयाँका दरले छात्रबृत्ती अक्षयकोषका लागि रकम प्रदान गरेका हुन् ।

यसैगरी, डाँडाथोक तमु समाजलाई एकलाख ५० हजार रुपैयाँ, कार्यक्रमको आयोजक संस्था समुताँ गुम्बालाई ७५ हजार रुपैयाँ गुम्बाका अध्यक्ष बीरसिंह घले, सचिव दुधबहादुर घले र सदस्य दुरमाया गुरुङलाई खरजङ दम्पतीले रकम प्रदान गरे ।

त्यस्तै, भोटेओडार स्थित समुताँ तमु समाजका अध्यक्ष पदमराज गुरुङ तथा सोही आमा समूहका अध्यक्ष दुरमाया गुरुङलाई संयुक्त रुपमा ५० हजार रुपैयाँ प्रदान गरे । समाजसेवी गुरुङले सोही ठाउँमा रहेको भोटेओडार सामुदायिक पुस्तकालयलाई सो पुस्तकालयका अध्यक्ष वसन्तराज खनादललाई २५ हजार ५५५ रुपैयाँ प्रदान गरेको कार्यक्रमको आयोजक संस्थाका अध्यक्ष बीरसिंह घलेले बताए ।

घलेका अनुसार भोटेओडारमै रहेको कर्मरेखा भूपू सैनिक संगठनका अध्यक्ष दूधबहादुर घलेलाई व्याडमिन्टन खेलको लागि प्रदान गरेका छन् । उनले भने, ‘यसप्रकार खरजङ गुरुङ सदम्पतीले आफ्नो ८४ बर्ष प्रवेशको अवसरमा कुल चार लाख ९७ हजार २२० रुपैयाँ प्रदान गरेका छन् ।’

उक्त कार्यक्रममा लमजुङ, गोरखा र तनहुँका गुम्बाका प्रमुख लामा गुरुहरू र अध्यक्षहरू विभिन्न समाजका अगुवाहरूको सहभागिता थियो । जसमा नेपाल ङिङमा संघको सचिव एवम् शाकाहारी अभियन्ता भिक्षु आङफुरी शेर्पाले साकाहारी जीवनको महत्वमा प्रकाश पार्दै शाकाहारी जीवनको आयु स्वतः १० वर्ष बढी हुने उल्लेख गरे । उनले भने, ‘ब्रोइलर कुखुरा लगायतका फास्टफुडका कारण मानिसहरूलाई प्राण घातक रोग क्यान्सर हुनुका साथै धेरै नसर्ने रोग लाग्छ’ भन्ने विभिन्न उदाहर सहित प्रष्ट्याएका थिए ।

नेपाल साकाहारी संघका अध्यक्ष कृष्ण गुरुङ, सोही संघका महासचिव मातृका प्याकुरेल, सदस्य दिलिप गुरुङ, समुताँ गुम्बाका संरक्षक सिङगापूर पूर्वइन्स्पेक्टर गोपालसिंह घले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा समाजसेवी एवम् दानवीर खरजङ गुरुङलाई सम्मान गर्नुका साथै उनीबाट आशीर्वाद लिनेको भिड थियो । उनले आफूले प्रदान गरेको रकम ती संस्थाहरूलाई अक्षयकोषका लागि भएको जानकारी दिए ।

समाजसेवी एवम् दानवीर खरजङ गुरुङले आफ्नो क्षेत्रमा विद्यालय भवन निर्माण, खानेपानी आयोजना निर्माण, सडक निर्माण, विभिन्न सामाजिक संघसंस्थाको विभिन्न पदमा बसेर योगदान गरिआएका थिए । उनी भोटेओडार स्थित भूपू सैनिक आमाविको समेत संस्थापक हुन् ।

संस्थाका अध्यक्ष विरसिंह घलेका सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन समता गुम्बाका सचिव दुधबहादुर घलेले गरेका थिए ।

The post समाजसेवी कप खरजङ गुरुङ दम्पतीद्वारा पाँच लाख रुपैयाँ दान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101066/