किशोरावस्थामा सिर्जनात्मक लेखन अभ्यास

किशोरावस्था सिर्जनात्मकता र व्यक्तित्व विकासको महत्वपूर्ण चरण हो। यस उमेरमा राम्रो लेखन सीपको विकासले किशोरकिशोरीको मानसिक र बौद्धिक विकासमा अहं भूमिका खेल्न सक्छ। लेखन कलालाई केवल शैक्षिक उद्देश्यका लागि मात्र सीमित राख्ने हिसाबले सोच्नुहुँदैन। यो आत्म–अभिव्यक्ति, संचार कौशल र सिर्जनात्मकताको प्रभावकारी माध्यम पनि भएकाले लेखन कलालाई यसै हिसाबले विकास गर्ने लक्ष्य राख्नुपर्छ।

अन्य क्षेत्रमा जस्तै लेखन सीपको विकासका लागि नियमित अभ्यास आवश्यक छ। किशोरकिशोरीहरूले दैनिकरूपमा कथा, लघु कथा, कविता, निबन्ध, डायरी लेख्ने बानी बसाल्दा लेखन सीपको विकास हुन्छ। किशोरावस्थादेखि नै दैनिक डायरीमा केही न केही लेख्ने अभ्यास ज्यादै राम्रो बानी हो। यसले केवल अक्षर र लेखन कलालाई तिखार्ने मात्र होइन, जीवनका महत्वपूर्ण घटनाको संग्रह हुन गई भविष्यमा आत्मवृतान्त लेख्न वा कुनै घटनाको वर्णन गरेर लेख लेख्न, मन्तव्य व्यक्त गर्नसमेत सहयोग पुग्छ।

पुस्तक, पत्रपत्रिका, जर्नल पढ्नु, महत्वपूर्ण व्यक्तिका उल्लेखनीय भनाइको टिपोट गर्नु लेखन सीपको विकासका लागि आधारभूत कुरा हुन्। लेखन सीपको विकासका लागि कुनै एउटा लेखकका वा कुनै एउटा विधाका पुस्तकमात्र नभई आख्यान, गैरआख्यान (फिक्सन ननफिक्सन) आदि विविध विधाका विविध लेखक पुस्तक पढ्नुपर्छ। यस्ता पुस्तक पढेर शब्द भण्डारको विकास र भाषा शैलीको बढाउन सकिन्छ। यसका साथै पुस्तक, पत्रपत्रिका, जर्नल पढ्नाले विविध नयाँ विचार उत्पन्न हुन्छन् र लेखन कार्यमा प्रेरणा मिल्नुका साथै लेखनमा विविधता पनि आउँछ।

कुनै पनि विषयमा राम्रो लेखन गर्नका लागि विषयवस्तुलाई गहिरोरूपमा बुझ्न आवश्यक छ। विषयवस्तुका बारेमा राम्ररी बुझेपछि आफ्ना विचारलाई कसरी क्रमबद्ध र तार्किकरूपमा प्रस्तुत गर्ने भनेर सोचविचार वा योजना गर्नुपर्छ। आफूले भन्न खोजका कुरालाई पहिले नै बुँदागत टिपोट गरेर लेख्दा लेखन कार्य अझ सहज हुन्छ।

राम्रो लेखनका लागि राम्रो शब्द भण्डार हुनु र व्याकरणको राम्रो ज्ञान हुन पनि आवश्यक छ। तर, व्याकरण र शब्दभण्डारको विकास गरेपछि लेखन शुरू गर्छु भनेर बस्नुहुँदैन। यी कुरा पढ्दै, सम्झिँदै, लेख्दै अभ्यास गर्दै जाँदा स्वतः विकास हुँदै जान्छन्। तर, लेखन कार्य गर्दा शब्दकोष र व्याकरणका पुस्तकको सहयोग लिँदा लेखन स्तरीय बन्दै जान्छ।

लेखन सीपको सुधारका लागि सिर्जनात्मक लेखन कार्यशाला वा कक्षामा सहभागी हुनु पनि फाइदाजनक हुन्छ। यस्ता कार्यशालाले लेखन प्रविधि, शैली र नवीनताका विभिन्न पक्षमा ध्यान दिन प्रेरित गर्छन्। लेखन कार्य निरन्तर चलिरहने कार्य हो। यो जीवनमा फर्कीफर्की आइरहन्छन्। लेख्दिनँ भनेर पनि धर पाइन्नँ। त्यसैले आफ्नो लेखनलाई प्रभावकारी र स्तरीय बनाउनका लागि आफूले लेखिसकेका सिर्जनात्मक सामग्रीको समीक्षा गर्ने, कमी कमजोरी खोज्ने, सम्पादन गर्ने कार्य पनि गर्नुपर्छ। आफ्ना मिल्ने साथी र शिक्षकलाई पनि बेलाबेलामा देखाएर सुझाव लिनुपर्छ। आफ्ना कमजोरी तथा त्रुटिबाट लेखनमा सुधार ल्याउन मद्दत पुग्छ।

कुनै पनि लेख लेख्नुअघि यसको उद्देश्य र लक्षित वर्गलाई स्पष्टरूपमा बुझ्न आवश्यक हुन्छ। लेखनको उद्देश्य के हो र कसको लागि लेख्दैछु भन्ने कुरा बुझेपछि लेखनको भाषाशैली र विषयवस्तु वा सामग्री छनोटमा पनि मद्दत पुग्छ।

Source : https://newsofnepal.com/2024/09/22/669342/