चलचित्र हेर्दा दर्शकलाई निःशुल्क पार्किङको माग
काठमाडौ । काठमाडौंको नयाँ बानेश्वरमा दीपकराज गिरी, दीपाश्री निरौलालगायतले सञ्चालन गरेको एनआनआई हलमा चलचित्र छक्का पञ्जा ५ चलिरहेको थियो । तिहारअघि सो हलमा यो चलचित्र हेरेका केही दर्शकले हलमा रहेको पार्किङमा आफ्नो सवारीको शुल्क तिर्न मानेनन् ।
उनीहरुको माग भनेको चलचित्र हेर्न आएका दर्शकलाई सो चलचित्र भवनले निशुल्क पार्किङ ब्यबस्था गरिनुपर्ने रहेको थियो । तर पछि हल सञ्चालक र पार्किङको ठेकेदार फरक व्यक्ति भएको जिकिर पार्किङका कर्मचारीले गरेपछि ती दर्शकहरुले पार्किङ शुल्क तिरे ।
काठमाडौंको सुन्धारा स्थित सिभिल मलको क्युएफएक्स हलमा चलचित्र हेर्न आउने दर्शकले चलचित्र हेरेको टिकट देखाउँदै बेला वेलामा पार्किङ शुल्क दिन आनाकारी गरेको घटनाहरु त्यहाँका पार्किङ कर्मचारीले राजधानीलाई सुनाए ।
यी दुई व्यवसायिक भवनमा मात्र हैन, धेरैजसो मलमा दर्शक र पार्किङका कर्मचारीबीच पार्किङ शुल्कको विषयमा बाक्लै विवाद पर्ने गरेको छ । यही समस्यालाई समाधान गर्न सामाजिक अभियान्ता तथा अभिनेत्री आषिका तामाङ र उनको समुहले चलचित्र विकाश बोर्डमा एक ज्ञापनपत्र बुझाएको छ । उनीहरुले अब चलचित्र घरमा चलचित्र हेर्न आएको दर्शकलाई प्रदर्शन अवधिभरको पार्किङ शुल्क मिनाहा हुनुपर्ने माग राखेका छन् । उनीहरुले आईतबार बोर्ड अध्यक्ष दिनेश डिसीलाई उनकै कार्यकक्षमा भेटेर यस्तो मागपत्र बुझाएका हुन् ।
‘चलचित्र बिकास बोडका अध्यक्ष दिनेश डिसीसँग भेटेर हामीले चलचित्र हलहरुमा आउनु हुने दर्शकहरुलाई नि ःशुल्क पार्किङ गर्न पाउनु पर्ने माग गरेका छौं । चलचित्र घरले तोकेको मुल्य उपभोक्ताले तिरेर टिकट काटेर चलचित्र हेरेपछि त्यसमै पार्किङ निशुल्क गर्नु पर्ने हाम्रो माग रहेको छ ।’ आषिकाले भनिन्,‘बिगतमा चलचित्र हेर्न जाँदा चलचित्रहरुले पार्किङ शुल्क लिँइदैन थियो । अहिले मलमा हल बनाएपछि पार्किङ शुल्कको नाममा महँगो रकम लिएका छन् ।’
यसरी उपभोक्ताबाट चलचित्र हेर्न आएका दर्शकलाई चलचित्र प्रदर्शन अवधिभरको पार्किङ निशुल्क हुनुपर्ने ’boutमा आएको मागप्रति आफुहरुको ध्यानाकर्षण भएको चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले राजधानीलाई बताए,‘आषिकाजी र उहाँको समुहले हामीलाई चलचित्र घरमा चलचित्र हेर्दा दर्शकको सवारी साधनको पार्किङ निशुल्क हुनुपर्छ भन्नु भएको छ । हामी चलचित्र प्रदर्शन तथा चलचित्र भवनसम्बन्धि ऐनमा उल्लेख गरिएको कुरालाई बुझेर यो प्रक्रियालाई अघि बढाउने छौं ।’ बोर्ड अध्यक्ष डिसीले भने,‘बोर्डमा माग आईसकेका कारण अव हामी हल सञ्चालकहरुलाई बोलाएर चलचित्र प्रदर्शनको समयमा दर्शकको पार्किङ निशुल्क गरिदिन आग्रह समेत गर्ने छौं ।’
त्यसो त गतवर्ष असारमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका व्यबसायिक भवन, मल र अस्पतालले पार्किङ शुल्क लिन नपाउने घोषणा गरेको थियो । सो घोषणापछि काठमाडौं महानघरपालिकाका मलहरुले केही समय पाकिङ शुल्क लिएनन् । जसका कारण ती मलमा भएका चलचित्र घरमा चलचित्र हेर्न गएका दर्शकले आफ्नो सवारी साधन निशुल्क पार्किङ गर्न पाए ।
महानगरको शो निर्णय अदालतले खारेज गरेको भन्दै व्यबसायी भवन सञ्चालकहरुले फेरी पार्किङ ठेकेदारलाई शुल्क लिने अनुमति दिए । त्यसपछि सबै मलमा रहेका चलचित्र घरमा चलचित्र हेर्न गएका दर्शकले आफ्नो सवारी साधनको पार्किङ शुल्क तिर्नु परेको छ । जसका कारण काठमाडौंमा एउटा हलमा दर्शकले एक शोमा समग्रमा २० देखि ५० हजार रुपैयाँसम्म पार्किङ शुल्क तिदै आएको देखिन्छ । यसैबीच मुलुक भरका चलचित्र घरमा चलचित्र हेर्दा उपभोक्ताले निशुल्क पार्किङ गर्न पाउने माग सहित चलचित्र विकाश बोर्डमा ज्ञापनपत्र बुझाएको आषिका र उनका साथीहरुको कथन छ ।
तर चलचित्र हल सञ्चालकहरु निःशुल्क पार्किङ सेवा दिने पक्षमा छैनन् । चलचित्र हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघका पूर्व अध्यक्ष एवम् वुटवलको द्धारिकाज सिनेमाका सञ्चालक प्रदीप कुमार उदयले नेपालका मलमा खुलेका कुनै पनि चलचित्र घरमा पार्किङ निशुल्क नभएको बताए,‘मैले बुझेसम्म काठमाडौं र बाहिरका कुनै पनि हलले निःशुल्क पार्किङ सेवा दिएको जस्तो मलाई लाग्दैन । कुनै हलमा आफ्नो हिसावले दिएको भए त्यो मलाई जानकारी भएन ।’ पूर्व अध्यक्ष उद्यले भने,‘चलचित्र घर सञ्चालकले हल खोल्दा आफ्ना दर्शकलाई पार्किङ व्यबस्था गरिदिनु पर्ने अनिवार्य छ । तर पार्किङ निःशुल्क गर्नु पर्ने उल्लेख ऐनमा छैन ।’
काठमाडौं उपत्यकामा सञ्चालित केही चलचित्र घर सञ्चालनमा आउँदा सुरुका दिनमा केही समय निःशुल्क पार्किङ व्यबस्था गरे पनि पछि उनीहरुले शुल्क लिन थाले । विश्वज्योती मलमा खोलिएको विश्वज्योती सिनेमा हलमा सुरुका दिनमा दर्शकलाई पार्किङ निःशुल्क गरिएको थियो । तर पछि त्यो हलमा पनि पार्किङ शुल्क लिन थलेको छ । काठमाडौं उपत्यका मात्र हैन, उपत्यका वाहिर मलमा रहेका सबै चलचित्र घरमा दर्शकले सवारी साधनको पार्किङ शुल्क तिर्नु परेको छ । काठमाडौंमा दुई पाँग्रे सवारी साधनको घन्टाको २० देखि ३० रुपैयाँ र चारपाँग्रे सवारी साधनको घन्टाको ३० देखि ५० रुपैयाँसम्म तोकिएको छ । जसका कारण एउटा चलचित्र घरमा एक शोमा दर्शकबाट पार्किङ ठेकेदारले मात्र २० देखि ५० हजारसम्म पार्किङ शुल्क उठाउने गरेका छन् । जसबाट दैनिक लाखौं रुपैयाँ देशभरका चलचित्र घरबाट पार्किङ शुल्क उठ्ने गरेको छ । त्यो सबै पैसा पार्किङको ठेकेदारले लिने हल सञ्चालकहरुको कथन छ । आफुहरुले केवल पार्किङको व्यबस्था मात्रै गरिदिँदै आएको पनि उनीहरुले बताएका छन् ।
The post चलचित्र हेर्दा दर्शकलाई निःशुल्क पार्किङको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103757/