थकाली समुदायले गुमायो अगुवा महिला नेतृ

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको हृदयाघातका कारण निधन भएको छ । डेंगु उपचारका क्रममा रहेकी सांसद गौचनको बिहीबार राति साढे १२ बजे काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीबाट समानुपातिक सांसद निर्वाचित गौचन ६३ वर्षकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरादेखि उपचारका लागि ग्रान्डी अस्पतालमा लगिएको थियो । पाँच दिनअघि डेंगु पुष्टि भएको भए पनि उनी बुधबार साँझसम्म सामान्य हिँडडुल गर्ने तथा आफैंले खाना खान सक्ने थिइन् । तर, राति एक्कासि अक्सिजन एवं रक्तचापसमेत घटेको र साढे १२ बजे हृदयाघात भएको चिकित्सकको भनाइ उद्धृत गर्दै गण्डकी प्रदेश सांसद प्रकाश बरालले जानकारी दिए ।

उनका एक छोरा रोशन र एक छोरी अनुषा छन् । शनिबार (भोलि) म्याग्दीको बेनीस्थित कालीगण्डकी किनारमा गौचनको अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिव शरीर काठमाडौंदेखि पोखरा ल्याई सोही दिन बिहान साढे ८ बजे नदीपुरस्थित प्रदेशसभा परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने प्रदेशसभा सचिव हरिराज पोखरेलले बताए । काठमाडौंमा भने थकाली समाज घरमा शुक्रबार (आज) ४ बजे श्रद्धाञ्जली सभा हुनेछ ।

एकल महिलाको हकहित, थकाली जाति एवं सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय सांसदको अकस्मात् निधनको खबरले सम्पूर्णमा दुखित तुल्याएको छ । उनीप्रति सामाजिक सञ्जालमार्फत यतिखेर श्रद्धाञ्जलीका शब्दहरू बर्सिरहेका छन् ।

गौचनको जन्म हिमालपारिको जिल्ला मुस्ताङको लेतेमा भएको थियो । उनको कर्मथलो म्याग्दी थियो । म्याग्दी सदरमुकाम बेनीमा उनको यती होटल निकै पुरानो र चल्तीको मानिन्छ । पोखरा–१७ ड्यामसाइडमा पनि उनको एक घर छ । उनका पति राम गौचनको केही वर्षअघि निधन भइसकेको छ । राम म्याग्दी कांग्रेसका पुराना र प्रभावशाली नेता थिए । बेनीमा होटल भएको घर पुनर्निर्माण गर्नेक्रममा पोखरादेखि मार्बल लिएर गएका उनको मार्बलले नै च्यापिएर निधन भएको थियो ।

एकल जीवन बिताइरहेकी गौचनले राजनीतिसँगै होटल व्यवसायलाई निरन्तरता दिइन् । प्रदेशसभा प्रवेश गर्नुअघि उनी नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष थिइन् । साथै, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत भएर काम गरेकी उनी कांग्रेस गण्डकी प्रदेश समिति सदस्यसमेत हुन् ।

नेपाली कांग्रेसका युवा नेता एवं प्रदेश सांसद प्रकाश बरालले गौचनलाई हृदयकी सफा र सबैलाई सहयोग गर्ने स्वभावकी व्यक्तित्व भएको स्मरण गर्छन् । ‘उहाँ सामाजिक भावले ओतप्रोत भएकी सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो, उहाँ राजनीतिक बाटोमा लागेकामा राजनीतिको पनि मूल मर्म सामाजिक सेवा, दुःखकष्टमा परेका नागरिकको सेवामा साक्षी बन्ने हो, उहाँको यस्तै खालको चरित्र थियो,’ युवा नेता एवं प्रदेश सांसद बरालले स्मरण गरे, ‘उहाँको देहावसानले सिंगो परिवार, समाज तथा कांग्रेस पार्टी पंक्तिलाई ठूलो क्षति हुन गएको छ ।’

प्रदेशसभा सदस्य विकल शेरचनले म्याग्दी र आफ्नो माइती मुस्ताङको विकासका लागि होस् वा एकल महिलाको हकहितका लागि दह्रिलो आवाज उठाउने महिला नेतृ गुमाउनुपरेको बताए ।

‘आफ्नो भन्दा अरूका लागि समय बढी दिनुहुन्थ्यो, केही समयअघि डेंगु संक्रमण हुँदासमेत सबैतिर पुग्ने र आवश्यक सहयोग तथा समन्वय गर्दै आउनुभएको थियो,’ सांसद शेरचन उनको योगदानको स्मरण गर्छन्, ‘उहाँ कहिल्यै पनि म सक्दिनँ, भ्याउँदिनँ नभन्ने खालको एकदम फरासिलो व्यक्ति हुनुहुन्थ्यो ।’

गौचनले महिला संघ म्याग्दीकी पूर्वअध्यक्ष भएर निकै ठूलो योगदान गरेको उनले बताए । उनले अगाडि भने, ‘मेरो त चेली पनि हो, नाताले छोरी पर्छ, परिवारमा अकल्पनीय क्षति हुन गयो, निकै दुःखित छौं ।’

नेविसंघ म्याग्दीका नेता निर्मल खत्री होटल व्यवसाय र राजनीतिलाई सँगसँगै अगाडि बढाउँदै गौचनले सामाजिक सेवामा पु¥याएको योगदान उल्लेख्य रहेको स्मरण गर्छन् । गैरसरकारी संस्थाहरूसँग मिलेर काम गर्ने, आफू पनि विभिन्न संघसंस्थामा संलग्न रहने गौचन म्याग्दीको सामाजिक क्षेत्रमा अग्रणी महिला रहेको खत्रीले स्मरण गरे । सांसद बनेपछि गौचनले होटल व्यवस्थापनको जिम्मा भने छोरीज्वाइँ अनुषा र मुकेश शेरचनलाई सुम्पेकी थिइन् ।

थकाली सेवा समिति पोखराका पूर्वअध्यक्ष विश्वमोचन गौचन थकाली समुदायले एक जना अगुवा महिला नेतृ गुमाएको बताउँछन् । केही दिनअघि सांसद गौचनलाई पोखरामै भेटेको स्मरण गर्दै विश्वमोहनले जीवन कहिले सकिन्छ ? यसको रहस्य बुझ्न नसकिने उल्लेख गरे । ‘सानैदेखि नै अरूलाई सहयोग गर्नेखालको उहाँको स्वभाव थियो, म्याग्दीमा पनि विभिन्न जाति, जनजाति सबैसँग मिलेर काम गर्नुहुन्थ्यो, कसैलाई अप्ठेरो परेको खबर सुन्नेबित्तिकै उहाँ जहाँ पनि पुग्नुहुन्थ्यो, थकाली समुदायका एक जना अगुवा महिला नेतृ गुमाएकामा निकै दुःख लागेको छ,’ विश्वमोहन भन्छन् ।

गौचन थकाली जातिको उत्थानका लागि पनि म्याग्दीमा मात्रै नभई सबैतिर समन्वय गरी हकहित र संरक्षणमा काम गर्ने स्वभावको व्यक्तित्व रहेको थकाली सेवा समितिका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत रहेका विश्वमोहनले सम्झे ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) अध्यक्ष कमला गिरी पर्यटन व्यवसायसहित राजनीतिक क्षेत्रमा एक महिला नेतृको अवसान भएको स्मरण गर्छिन् । गिरी भन्छिन्, ‘महिला भएर पनि साहसी, समयमै निर्णय गर्नसक्ने, निकै सक्रिय व्यक्ति हुनुुहुन्थ्यो, महिलाका कुनै पनि मुद्दा संसद् होस् वा विभिन्न निकायमा आवाज उठाउनसक्ने हुनुहुन्थ्यो ।’ गौचनको निधनले साविक धौलागिरिले महिला पर्यटनका क्षेत्रमा एक जना ‘पायोनियर’ गुमाएको गिरीले बताइन् ।

The post थकाली समुदायले गुमायो अगुवा महिला नेतृ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103772/