प्रदेश हस्तकलाग्राम विधेयक पारित

हेटौंडा।

वागमती प्रदेशले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सोमबार प्रदेशसभा बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो ।

प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले पेस गरेको विधेयक सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रदेशसभामा पेस गरेका थिए । सभामुख पाठकले पेस गरेको विधेयकलाई सांसद्हरुले सर्वसम्मत स्वीकृत गरेका हुन् ।

२५ असोज २०८० मा तत्कालीन उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेशसभामा दर्ता गरेको विधेयक करिव एक वर्षपछि पारित भएको हो ।

आइतबार उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए ।विधेयक पारित भएसँगै हस्तकलालाई प्रदेशको अर्थतन्त्रको प्रमुख क्षेत्रका रुपमा विकास गरी स्वदेशी पँुजी, स्थानीय सिप तथा कला र स्रोतको अधिकतम परिचालनसहित स्वदेशमा निर्मित हस्तकलाका वस्तु पहिचानलाई विश्वबजारमा स्थापित गर्न मद्धत पुग्ने मन्त्री तामाङले बताइन् ।

स्वदेशमा हस्तकला सामग्री प्रयोगमा वृद्धि गर्न र छरिएर रहेका लघु तथा घरेलु हस्तकला उद्योगलाई एकीकृत गरी उत्पादन र हस्कला उद्योगको उत्पादकत्व अभिवृद्धि गर्न प्रदेशभित्र हस्तकलाग्राम स्थापना र सञ्चालनसम्बन्धमा कानुनी व्यवस्था वाञ्छनीय भएकाले ऐन बनाइएको मन्त्री तामाङले जानकारी दिइन् ।

हस्तकलाग्राम महासंघले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि तीन गुणाले उत्पादन र निर्यात बढाउन सकिने बाटो खुलेको बताएको छ । उसका अनुसार ८० प्रतिशत हस्तकला वागमती प्रदेशबाट निर्यात भइरहेको छ । देशभर १९ जिल्लाका हस्कलाग्राम संघ छन् ।

हस्तकलाभित्र १३ वटा बस्तुगत संघ आवद्ध छन् । जसमध्ये पश्मिना, फेल्ट, धातुका सामान, काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेन्टिङ हस्तकलाभित्र पर्दछन् । कपडाबाट बनेका सामानमा खासगरि पश्मिना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामान पर्दछन् भने ऊनबाट बनेका सामग्री पनि पर्दछन् । सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस, थांकालगायत हस्तकलाभित्र पर्दछन् । भाँडाहरुमध्ये गमला, घ्याम्पो, घैंटो, हाँडी र खुत्रुके आदि पनि हस्तकलाभित्र पर्दछन् ।

Source : https://newsofnepal.com/2024/09/23/669592/