सुक्खा पहिरोमा परेर महिला बेपत्ता

गुल्मी।

सुक्खा पहिरोमा परी गुल्मीको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएकी छन् । ६९ वर्षीया टनि पुन आईतबारदेखि बेपत्ता भएकी हुन् । घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुक्खा पहिरो झरेको थियो । त्यसपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ । उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुक्खा पहिरो गएको छ । उनी अझै सम्पर्कमा नआएकोले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए ।

Source : https://newsofnepal.com/2024/09/23/669595/